पहिलो खेलमा भ्रमण टोलि भारतलाई ३१ रनले पराजित गर्दै दक्षिण अफ्रीकाले तिनवटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।
पार्ल स्थित बोल्याण्ड पार्क मैदानमा दक्षिण अफ्रीकाले दिएको २९७ रनको लक्ष्य पछ्याएको भारतले पुरै ५० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा २६५ रन मात्र बनाउन सक्यो। भारतको लागि शिखर धवनले सर्वाधिक ७९ रन, बिराट कोहलीले ५१ रन तथा शार्दुल ठाकुरले अविजित ५० रन बनाए।
लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात राम्रो रह्यो। शिखर धवन र केएल राहुलले ४६ रनको साझेदारी गरे। नवौं ओभरमा १२ रन बनाएका राहुललाई एडेन मारक्रमले क्याच आउट पारे। त्यसपछि धवन र बिराट कोहलीले ९२ रनको साझेदारी गरे। २६ औं ओभरमा धवनलाई केशव महाराजले बोल्ड गर्दै साझेदारी तोडे। २९ औं ओभरमा कोहलीलाई तब्रेज शाम्सीले क्याच आउट गरे। त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो। श्रेयस ऐयर ( १७ ) , रिशभ पन्त ( १६ ) र भेंकटेस ऐयर ( २ ) लामो समय क्रिजमा जमेनन्। फलस्वरुप भारत १३८/१ को अवस्थाबाट २१४/८ को खराब अवस्थामा पुग्यो। आठौँ नम्बरमा ब्याटिंग गरेका ठाकुरले जस्प्रित बुम्राहसंग आठौँ विकेटको लागि ५१ रनको साझेदारी गरे तर टिमलाई जितसम्म पुर्याउन सकेनन्।
दक्षिण अफ्रीकाका बलर लुंगी एनगीडी ( ९-०-५८-२ ) , एन्डीले फेलुक्वायो ( ५-०-२६-२ ) र तब्रेज शाम्सीले ( १०-१-५२-२ ) समान दुई विकेट लिए। केशव महाराज र एडेन मारक्रमले समान एक विकेट लिए।
यस अघि टस जित्र ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट क्षेतीमा २९६ रन बनाएको थियो।
दक्षिण अफ्रीकाको ब्याटिंगमा कप्तान तेम्बा बभुमा र रसि भान डर डुसेनले शतकीय योगदान दिए। डुसेनले अविजित १२९ रन बनाए जुन क्रममा ९६ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। बभुमाले १४३ बलमा ८ चौका मद्दतले ११० रन बनाए।
क्विन्टन डीकक ( २७ ), जानेमन मलान ( ६ ) र एडेन मारक्रम ( ४ ) आउट हुँदा ६८/३ को अवस्थाबाट बभुमा र डुसेनले चौंथो विकेटको लागि २०४ रनको साझेदारी गरे। बभुमालाई ४९ औं भरमा जस्प्रित बुम्राहले क्याच आउट गर्दै साझेदारी तोडे। यो साझेदारी दक्षिण अफ्रीका र भारत बीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै चौंथो विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि सन् २०१३ मा क्विन्टन डीकक र एबि डी भिल्लीयर्सले १७१ रनको साझेदारी गरेका थिए जुन रेकर्ड आज टुटेको हो। यस्तै भारत बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो दोश्रो ठूलो साझेदारी हो। यस अघि सन् २००९ मा शोयब मलिक र मोहम्मद युसुफले २०६ रनको साझेदारी गरेका थिए।
भारतको बलिंगमा जस्प्रित बुम्राहले दुई विकट ( १०-०-४८-२ ) तथा रभीचन्द्रन आश्विनले एक विकेट (१०-०-५३-१ ) लिए।
सिरिज अन्तर्गत दोश्रो खेल जनवरी २१ तारिखमा तथा तेश्रो खेल जनवरी २३ तारिखमा खेलिनेछ। यस अघि सम्पन्न टेस्ट सिरिज दक्षिण अफ्रीकाले २-१ ले जितेको थियो।