BBL : सन्दिपविहिन होबार्ट इलिमीनेटरमा पराजित

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत इलिमीनेटरमा एडीलेड स्ट्राइकर्ससंग पराजित हुँदै होबार्ट हरिकेन्स बाहिरीएको छ।

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने विना उत्रिएको होबार्ट २२ रनले पराजित हुन पुग्यो। प्रतियोगिताको लिग चरणको खेल समाप्त भएपछि राष्ट्रिय टिमको टि-२० विश्वकप ग्लोबल छनोट तयारीको लागि शुक्रबार स्वदेश फर्कीसकेका छन्।

मेलबर्न स्थित मेलबर्न क्रिकेट स्टेडियममा सम्पन्न खेलमा एडिलेडले दिएको १८९ रनको लक्ष्य पछ्याएको होबार्टले १९.४ ओभरमा १६६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। होबार्टको लागि ड्यार्सी सर्टले सर्वाधिक ५६, कलेब जिवेलले ३५, टिम डेभिडले २१ तथा पिटर ह्यान्ड्सकम्बले १५ रन योगदान दिए। सर्टले जिवेलसंग तेश्रो विकेटको लागि ३९ रनको तथा ह्याण्डसकम्बसंग चौथो विकेटको लागि ५५ रनको साझेदारी गरेपनि जित्न पर्याप्त रहेन।

एडीलेडका कप्तान पिटर सिडलले सर्वाधिक ४ विकेट ( ३.४-०-३२-४ ) लिए भने ह्यारी कनवे र हेनरी थोरटनले समान दुई विकेट लिए। म्याथु सर्ट र फवाद एहमदले समान एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको एडिलेडले २० ओभरमा ६ विकेट क्षेतीमा १८८ रन बनाएको थियो। उसको लागि ओपनर म्याथु सर्टले सर्वाधिक ८९ रन बनाए जुन क्रममा ४८ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। यस्तै एलेक्स केरीले ४५ बलमा ८ चौका मद्दतले ६७ रन बनाए। सर्ट र केरीले १४.२ ओभरमा १४५ रनको ओपनिंग साझेदारी गरेका थिए।

होबार्ट बलर राइली मेरेडीथ र थोमस रोजर्सले समान दुई विकेट तथा स्कट बोल्याण्ड र विल पार्करले समान एक विकेट लिए। खेलमा सन्दिपको अभाव होबार्टले महसुस गर्यो। टिमका एक जना बलर बाहेक सबैले प्रतिओभर ९ भन्दा बढी रन खर्चीए।

लिग चरणमा १४ खेल खेलेपछि नेपाल फर्किएका सन्दीपले कुल १४ विकेट लिए। यस क्रममा उनले ७.७९ रन प्रतिओभर खर्चिए। प्रतियोगितामा धेरै विकेट लिने स्पिनरको सुचीमा उनि राशिद खान ( २० विकेट ) र एस्टन एगर ( १५ विकेट ) पछि तेश्रो स्थानमा रहे।

सिजनको सुरुवात खेलहरुमा विकेट लिन संघर्ष गरेका सन्दिपलाई क्याचहरु र स्टम्पिंग छुट्दा प्रभावशाली सुरुवात हुन सकेको थिएन। उनले लिगको सुरुवाती ६ खेलमा मात्र २ विकेट लिन सकेका थिए। तर त्यसपछि उत्कृस्ट पुनरागमन गरेका उनले बाँकी ८ खेलमा १२ विकेट हात पारे। मेलबर्न रेनेगेड्स बिरुद्ध एकै खेलमा उनले ३ विकेट लिए। यस्तै एडीलेड, ब्रिसबेन, सिड्नी, मेलबर्न बिरुद्ध उनले दुई/दुई विकेट लिए।

२०७८ माघ ७, शुक्रबार मा प्रकाशित