निर्णायक तेश्रो खेलमा जिम्बाब्वेले लज्जास्पद प्रदर्शन गरे पछि घरेलु टोलि श्रीलंकाले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। सिरिज अन्तर्गत पहिलो खेल श्रीलंकाले ५ विकेटले जितेको थियो भने दोश्रो खेल जिम्बाब्वेले २२ रनले जितेको थियो।
पालेकेले अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २४.४ ओभरमा ७० रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो र १८४ रनको हार बेहोर्यो। जिम्बाब्वे बिरुद्ध श्रीलंकाको यो इतिहासकै दोश्रो ठूलो रनअन्तरको जित हो। यस अघि सन् १९९४ मा श्रीलंकाले जिम्बाब्वेलाई सबैभन्दा बढी १८४ रनले पराजित गरेको थियो।
७० रनको योगफल जिम्बाब्वेको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासको यो नवौं कम टिम योगफल हो। जिम्बाब्वेको सबैभन्दा कम टिम योगफल पनि श्रीलंकासंग सन् २००४ मा बनाएको ३५ रन हो। जिम्बाब्वे एकदिवसीय फर्म्याटमा एक सय भन्दा कम योगफलमा समेटिएको यो अठारौं पटक हो।
लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको लागि ताकुद्ज्वानाशे काटीयानोले १९ तथा रायन बर्लले १५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ५२ रनमा ८ विकेट गुमाएको अवस्थामा बर्लए तेन्दाई चतारासंग १८ रनको साझेदारी गरे।
श्रीलंकाले बलिंगमा लेग स्पिनर जेफ्री भान्दरसेले करियरको उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ विकेट लिए जुन क्रममा ७.४ ओभरमा २ मेडन ओभर गर्दै १० रन खर्चिए। दुश्मन्था चमिरा ( ५-१-२०-२ ) र रमेश मेन्डिसले ( ४-०-२६-२ ) समान दुई विकेट लिंदा महेश थिक्साना र चमिका करुनारत्नेले समान एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २५४ रन बनाएको थियो। उसको लागि पथुम निसंकाले ५५, चरिथ असलंकाले ५२, कुसल मेन्डिसले ३६, चमिका करुनारत्नेले ३०, रमेश मेन्डिसले २६ रन योगदान दिए। निसंक र मेन्डिसले ८० रनको ओपनिंग साझेदारी गरेका थिए। यस्तै सातौँ विकेटको लागि करुनारत्ने र मेन्डिसले ४८ रन जोडे।
जिम्बाब्वे बलर रिचर्ड नगरभाले दुई विकेट लिंदा तेन्दाई चतारा, ब्लेसिंग मुजाराबानि, वेलिंगटन मासाकाट्जा, रायन बर्ल र सिन विलियम्सले समान एक विकेट लिए।
खेलको प्लेयर अफ द म्याच चरिथ असलंका तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडी पथुम निसंका चुनिए जसले ३ खेलमा १४६ रन बनाए।