IPL इतिहाँसकै महँगो बने राहुल, नयाँ टिम अहमदावाद र लखनउले अनुबन्ध गरे तिन खेलाडी

आईपीएलको नयाँ फ़्रेन्चाइज् लखनउले आईपीएल २०२२ को अक्सन अघि पन्जाब किंग्सका पूर्व कप्तान केएल राहुललाई लिग इतिहाँसकै महँगो खेलाडी बनाएको छ।

आईपीएलले दुई नयाँ टिमलाई अन्य फ़्रेन्चाइजले रिटेन नगरेका तिन/तिन जना खेलाडीलाई अक्सन अघि अनुबन्ध गर्न अनुमति दिएको थियो। अक्सन फेब्रुअरी १२ र १३ तारिखमा बैंगलोरमा हुनेछ।

लखनउले राहुललाई १७ करोड भारतीय रुपैयाँ अर्थात् करिब २७ करोड १९ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। राहुल अब बिराट कोहलीसंगै आईपीएल इतिहासको सबैभन्दा महँगो खेलाडी बनेका छन्। कोहलीलाई २०१८ मेगा अक्सन अघि रोयल च्यालेन्जर्स बैंगलोरले १७ करोड भारुमै अनुबन्ध गरेको थियो। कोहलीलाई यो सिजन बैंगलोरले १५ करोड भारुमा ( करिब २४ करोड नेपाली रुपैयाँ ) रिटेन गरेको छ।

लखनउले अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिस तथा अनक्याप्ड लेग स्पिनर रभी बिस्नोईलाई पनि अनुबन्ध गर्ने घोषणा गरेको छ। स्टोइनिसले ९.२ करोड भारु तथा बिस्नोईले ४ करोड भारु पाउनेछन्।

आईपीएलको अर्को नयाँ टिम अहमदावादले हार्दिक पान्ड्या, अफगानिस्तान लेग स्पिनर राशिद खान तथा भारतीय ब्याट्सम्यान शुबमन गिललाई अनुबन्ध गरेको छ। पान्ड्या र राशिदले समान १५ करोड भारु ( करिब २४ करोड नेपाली रुपैयाँ ) मा अनुबन्ध गरेको हो। शुबमन गिलले ८ करोड भारु ( करिब १२ करोड ८० लाख नेपाली रुपैयाँ )पाउनेछन्। गत सिजन आईपीएलमा हार्दिक मुम्बई इन्डिएन्सको, राशिद र गिल सनराइजर्स हैदरावादको हिस्सा थिए।

अहमदावादले टिमको मुख्य प्रशिक्षकको रुपमा पूर्व भारतीय क्रिकेटर आशिष नेहरा तथा क्रिकेट निर्देशकको रुपमा विक्रम सोलंकीलाई चयन गरेको छ। भारतीय टिमका पूर्व प्रशिक्षक ग्यारी क्रस्टन ब्याटिंग प्रशिक्षक तथा मेन्टर रहनेछन्।

लखनउले पूर्व जिम्बाब्वे कप्तान तथा इंग्ल्यान्ड प्रशिक्षक एन्डी फ्लावरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। यस्तै पूर्व भारतीय कप्तान गौतम गम्भीरलाई मेन्टरको रुपमा नियुक्त गरेको छ जसले कोलकातालाई दुई पटक आईपीएल उपाधि जिताएका थिए।

२०७८ माघ ८, शनिबार मा प्रकाशित