भारत बिरुद्ध शुक्रबार सम्पन्न दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा स्लो ओभर रेटका कारण घरेलु टोली दक्षिण अफ्रीकालाई म्याच फिको २० प्रतिशत जरिवाना लगाइएको छ।
म्याच रेफ्री एन्डी प्याक्रफ्टले तेम्बा बभुमा कप्तानीको टिमलाई तोकिएको समय भन्दा एक ओभर ढिला गरेका कारण जरिवाना लगाइएको हो। बभुमाले गल्ति र जरिवाना स्वीकार गरिसकेका छन्।
आईसीसीको खेलाडी आचारसंहिताको धारा २.२२ अनुसार यदी निर्धारित समयमा ओभर पुरा नगरे सम्बन्धित सबै खेलाडीहरुलाई म्याच फिको २० प्रतिशत जरिवाना लाग्ने रहेको छ।
खेलमा दक्षिण अफ्रीकाले भारतले दिएको २८८ रनको लक्ष्य ११ बल बाँकी रहँदै ३ विकेट क्षेतीमा भेटाएको थियो। सिरिज एक खेल बाँकी रहँदै दक्षिण अफ्रीकाले आफ्नो पक्षमा पारेको थियो। सिरिजको अन्तिम खेल जनवरी २३ तारिख आइतबार खेलिनेछ।