इंग्ल्यान्डको वेस्टइन्डिज भ्रमण अन्तर्गत पाँच वटा टि-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा वेस्टइन्डिज ९ विकेटले विजयी भएको छ।
बार्बेडोस स्थित केनिंगटन ओभलमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १०४ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले १७.१ ओभरमा १ विकेट क्षेतीमा भेटायो। वेस्टइन्डिज ओपनर ब्रान्डन किंगले अविजित ५२ तथा निकोलस पुरनले अविजित २७ रन बनाए भने शाइ होपले २० रन बनाए। इंग्ल्यान्डका आदील रशिदले एक मात्र विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले १९.४ ओभरमा १०३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। उसको लागि क्रिस जोर्डनले सर्वाधिक २८, आदील रशिदले २२, कप्तान ओएन मोर्गनले १७ तथा जेम्स भिन्सले १४ रन योगदान दिए। इंग्ल्यान्डले ३९ रन बनाउदा ६ विकेट गुमाएको थियो। त्यसपछि आठौँ नम्बरमा आएका जोर्डनले रशिदसंग ३६ रनको साझेदारी गरे।
वेस्टइन्डिजका बलर जेसन होल्डरले टि-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ३.४ ओभरमा १ मेडन ओभर गर्दै ७ रन खर्चेर चार विकेट लिए। शेल्डन कटरेलले २ तथा अकेल होसेन, रोमारियो शेफर्ड र फाबियन एलेनले समान एक विकेट लिए।
सिरिज अन्तर्गत जनवरी २३, २६, २९ र ३० तारिखमा बाँकी खेल खेलिनेछ। त्यसपछि दुई देशले तिन वटा टेस्टको सिरिज मार्च ८ तारिख देखि खेल्नेछ।