आफ्नो घातक लेग स्पिन बलिंगले परिचित इमरान ताहिरले विस्फोटक ब्याटिंग गर्दा ओमानमा जारि लेजेन्ड्स लिग क्रिकेटमा वर्ल्ड जायन्ट्सले इन्डिया महाराजासलाई रोमान्चक खेलमा ३ विकेटले पराजित गरेको छ।
ओमानको अल अमिरात मैदानमा गय राति सम्पन्न खेलमा इन्डियाले दिएको २१० रनको लक्ष्य वर्ल्ड जायन्टसले ३ बल बाँकी रहंदा ७ विकेट क्षेतीमा भेटायो।
जितको लागि अन्तिम ३ ओभरमा वर्ल्ड जायन्ट्सलाई ४८ रन आवस्यक थियो र साथमा ३ विकेट थियो। उक्त अवस्थामा मनप्रित गोनीले गरेको अठारौं ओभरमा ताहिरले तिन वटा छक्का प्रहार गरे जुन ओभरमा २३ रन आयो। लगत्तै ओभरमा मुनाफ पटेलको ओभरमा रायन साइडबटमले दुई चौका प्रहार गरे जुन ओभरमा १३ रन आयो। अन्तिम ओभरमा जित्न १२ रन आवस्यक हुँदा भेनुगोपाल रावले गरेको पहिलो र तेश्रो बलमा ताहिरले छक्का प्रहार गर्दै टिमलाई रोमान्चक जित दिलाए।
४२ वर्षीय ताहिरले मात्र १९ बलमा अविजित ५२ रन बनाए जुन क्रममा ३ चौका र ५ छक्का प्रहार गरे। यस अघि वर्ल्ड जायन्ट्सका ओपनर केभिन पिटरसनले आक्रामक ब्याटिंग गर्ने क्रममा २७ बलमा २ चौका र ६ छक्का मद्दतले ५३ रन बनाएका थिए। डेरेन स्यामी ११ बलमा २८, ब्राड ह्याडीन र मोर्ने मोर्केलले समान २१ रन योगदान दिए।
Imran Tahir ! You Beauty 🔥
52 off 19 balls 💥#Cricket #LegendsLeagueCricket @llct20 pic.twitter.com/B1Hxoz6w9p— Mustafa Abid (@mmustafa_abid) January 22, 2022
इन्डिया महाराजासको बलिंगमा मुनाफ पटेल र स्टुवार्ट बिनिले समान दुई विकेट लिए। यस्तै मनप्रित गोनी, हेमांग बदानी र भेनुगोपाल रावले समान एक विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको महाराजासले २० ओभरमा ३ विकेट क्षेतीमा २०९ रन बनाएको थियो। उसको लागि ओपनर नमन ओझाले विस्फोटक ब्याटिंग गर्दै मात्र ६९ बलमा १५ चौका र ९ छक्का मद्दतले १४० रन बनाए। यस्तै कप्तान मोहम्मद कैफले अविजित ५३ रन बनाए। वर्ल्ड जायन्ट्सका रायन साइडबटमले दुई तथा मोर्ने मोर्केलले एक विकेट लिए।
प्रतियोगितामा एसिया लायन्स, वर्ल्ड जायन्ट्स र इन्डिया महाराजास गरि तिन टिम सहभागी छन्। हालसम्म तिन वटा टिमले समान दुई खेल खेल्दा एक जित र एक हार बेहोरेका छन्। सबैले समान तिन खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिमले फाइनल खेल्नेछ।