रहमनुल्लाह गुर्बजले शतकीय योगदान दिंदा अफगानिस्तानले दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय जित्न नेदरल्याण्डलाई २३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कतारको दोहा स्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट क्षेतीमा २३७ रन बनाएको छ।
अफगानिस्तानको लागि ओपनर रहमनुल्लाह गुर्बजले करियरको दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए जुन क्रममा १२७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान हाश्म्तुल्लाह शाहिदीले ५४, रहमत शाहले ३५, नजिबुल्लाह जद्रानले २० तथा राशिद खानले १४ रन योगदान दिए।
ओपनर उस्मान घानी खाता नखोली दोश्रो ओभरमा आउट भएपछि गुर्बजले दोश्रो विकेटको लागि रहमत शाहसंग ८३ रनको तथा तेश्रो विकेटको लागि शाहिदीसंग १०६ रनको साझेदारी गरे। गुर्बजलाई ४२ औं ओभरमा फिलिपे बोसेभेनले क्याच आउट पारे।
नेदरल्याण्ड बलर फ्रेड क्लासेन ( १०-१-५१-२ ) र फिलिपे बोसेभेनले ( ८-०-३९-२ ) ले समान दुई विकेट तथा रायन क्लेन र कोलिन एंकरम्यानले समान एक विकेट लिए।
तिन खेलको सिरिजमा अफगानिस्तान पहिलो खेल ३६ रनले जित्दै १-० ले अघि छ। उक्त खेलमा अफगानिस्तानले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले १८६ रन मात्र बनाउन सकेको थियो।