ओमानका मक्सुद ‘आईसीसी एसोसिएट क्रिकेटर अफ द इअर’ घोषित

ओमानका कप्तान जिशान मक्सुद अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को वर्ष २०२१ को ‘एसोसिएट क्रिकेटर अफ द इअर’ घोषित भएका छन्।

३४ वर्षीय देब्रे हाते स्पिन अलराउण्डर मक्सुदले वर्ष २०२१ मा खेलेको १३ अन्तर्राष्ट्रिय खेलमा ब्याटबाट ३१.६० को औशतले ३१६ रन तथा बलिंगतर्फ २१ विकेट लिएका थिए। उनको नेतृत्वमा ओमानले आफ्नै भूमिमा टि-२० विश्वकप समेत खेलेको थियो।

मक्सुदले टि-२० विश्वकपमा पपुवा न्यु गिनी बिरुद्ध २० रन खर्चेर ४ विकेट लिएका थिए जसको मद्दतले पपुवा न्यु गिनी १२९ रन मात्र बनाउन सकेको थियो। ओमानले उक्त खेल १० विकेटले जितेको थियो। प्रतियोगितामा पहिलो जितमा मक्सुद प्लेयर अफ द म्याच चुनिएका थिए।

उत्कृस्ट एसोसिएट क्रिकेटर हुने दौडमा नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने पनि थिए। सन्दिपले वर्ष २०२१ मा खेलेको ११ अन्तर्राष्ट्रिय खेलमा ३१ विकेट लिएका थिए। यस क्रममा उनले पपुवा न्यु गिनी बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ११ रन खर्चेर ६ विकेट लिएका थिए। यस्तै उनले ओमान बिरुद्ध एकदिवसीयमा पनि ४ विकेट लिएका थिए। तर मक्सुदको अलराउण्ड प्रदर्शन, कप्तानी र विश्वकपमा प्रदर्शनको कारण सन्दिप भन्दा अघि भए।

सन्दिप लामिछाने क्रिक्इन्फो वेबसाइटको वर्ष २०२१ को एसोसिएट क्रिकेटको उत्कृस्ट बलरको मनोनयनमा भने पर्न सफल भएका छन्। उनिसंगै नामिबियाका जान फ्राईलिंक र जेजे स्मित, स्कटल्याण्डका रुबेन ट्रंपलम्यान र नाइजेरियाका पिटर अहो मनोनयनमा छन्।

२०७८ माघ ९, आईतवार मा प्रकाशित