भारतको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकाले भारतलाई २८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। केपटाउन स्थित न्युल्यान्ड्समा टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ४९.५ ओभरमा २८७ रनमा सम्पूर्ण विकेट गुमायो।
दक्षिण अफ्रीकाको ब्याटिंगमा क्विन्टन डीककले एकदिवसीय करियरको १७ औं शतक बनाउने क्रममा १२४ रन बनाए। उनले १३० बलमा १२ चौका र २ छक्का प्रहार गरे। भारत बिरुद्ध डीककको यो छैठौं शतक हो। यस क्रममा डीककले भारत बिरुद्ध मात्र १६ इनिंग्समा १ हजार रन समेत पुरा गरे। यस्तै रसि भानडर डुसेनले ५२ रन, डेभिड मिलरले ३९ तथा ड्वेन प्रिटोरियसले २० रन बनाए।
दक्षिण अफ्रीकाको सुरुवात राम्रो रहन सकेन। दिपक चाहरले जानेमन मलान ( १ ) र एडेन मारक्रम ( १५ ) लाई क्याच आउट गरे भने तेम्बा बभुमा ८ रन बनाएर रन आउट भए। ७०/३ को अवस्थाबाट ओपनर क्विन्टन डीककले रसि भान दर डुसेनसंग १४३ रनको साझेदारी गरे। डीककलाई ३६ औं ओभरमा जस्प्रित बुम्राहले क्याच आउट पारे। लगत्तै ओभरमा डुसेनलाई युज्भेन्द्र चाहलले क्याच आउट पारे। सातौँ विकेटको लागि डेभिड मिलरले ड्वेन प्रिटोरियससंग ४४ रनको साझेदारी गरे। मिलर अन्तिम ओभरमा प्रसिध कृष्णाबाट क्याच आउट भए। अन्तिम ५ ओभरमा दक्षिण अफ्रीकाले ३१ रन बनाउदा ४ विकेट गुमायो।
भारतको बलिंगमा सिरिजमा पहिलो पटक मौका पाएका प्रसिध कृष्णाले तिन विकेट ( ९.५-०-५९-३ ) तथा दिपक चाहर ( ८-०-५३-२ ) , जस्प्रित बुम्राह ( १०-०-५-२ ) समान दुई विकेट लिए। युज्भेन्द्र चाहलले एक विकेट ( ९-०-४७-१ ) लिए।
पहिलो र दोश्रो खेल क्रमशः ३१ र ७ विकेटले जित्दै दक्षिण अफ्रीकाले २-० ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।