मुजिब र गुर्बज चम्किंदा अफगानिस्तानको सिरिज जित

दोश्रो खेलमा नेदरल्याण्डलाई ४८ रनले पराजित गर्दै अफगानिस्तानले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी रहँदै २-० ले जितेको छ। पहिलो खेलमा अफगानिस्तान ३६ रनले विजयी भएको थियो।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क स्टेडियममा अफगानिस्तानले दिएको २३८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड ४७.४ ओभरमा १८९ रनमा समेटिन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा मुसा एहमद ( ६ ) र कोलिन एंकरम्यान ( ५ ) छिट्टै आउट भए। तेश्रो विकेटको लागि ओपनर स्कट एड्वार्ड्सले बास डी लिडेसंग ९० रनको साझेदारी गरे। ३४ रन बनाएका लिडेलाई पैतिसौं ओभरमा फवाद एहमदले बोल्ड गरे। त्यसपछि उन्ननचालीसौं ओभरमा एड्वार्ड्सलाई यामिन अहमदजाईले एलबिडब्लु पारे। त्यस अघि एड्वार्ड्सले १२० बलमा ९ चौका मद्दतले ८६ रन बनाए। त्यसपछि कप्तान पिटर सिलार ( १२ ) रन आउट भए भने बिरोस गोर्लेलाई राशिद खानले क्याच आउट पारे। त्यसपछि नेदरल्याण्डले लगातार विकेट गुमायो फलस्वरुप १७२/५ को अवस्थाबाट थप १७ रन जोड्दा सम्पूर्ण विकेट गुम्यो।

अफगानिस्तानका बलर मुजिब उर् रहमानले सर्वाधिक चार विकेट ( ९.४-०-३२-४ ) लिंदा फरिद मलिकले दुई विकेट ( ९-१-२९-२ ) तथा यामिन अहमदजाई ( १०-०-५०-१ ) र राशिद खानले ( ९-०-३१-१) समान एक विकेट लिए।

रहमुनुल्लाह गुर्बजले करीयरको दोश्रो शतक बनाए

यस अघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट क्षेतीमा २३७ रन बनाएको थियो। अफगानिस्तानको लागि ओपनर रहमनुल्लाह गुर्बजले करियरको दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए जुन क्रममा १२७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान हाश्म्तुल्लाह शाहिदीले ५४, रहमत शाहले ३५, नजिबुल्लाह जद्रानले २० तथा राशिद खानले १४ रन योगदान दिए।

ओपनर उस्मान घानी खाता नखोली दोश्रो ओभरमा आउट भएपछि गुर्बजले दोश्रो विकेटको लागि रहमत शाहसंग ८३ रनको तथा तेश्रो विकेटको लागि शाहिदीसंग १०६ रनको साझेदारी गरे। गुर्बजलाई ४२ औं ओभरमा फिलिपे बोसेभेनले क्याच आउट पारे।

नेदरल्याण्ड बलर फ्रेड क्लासेन ( १०-१-५१-२ ) र फिलिपे बोसेभेनले ( ८-०-३९-२ ) ले समान दुई विकेट तथा रायन क्लेन र कोलिन एंकरम्यानले समान एक विकेट लिए।

२०७८ माघ ९, आईतवार मा प्रकाशित