रोमान्चक खेलमा दक्षिण अफ्रीका ४ रनले विजयी, सिरिज क्लिन स्विप

रोमान्चक तेश्रो खेलमा भारतलाई ४ रनले पराजित गर्दै घरेलु टोलि दक्षिण अफ्रीकाले भारत बिरुद्ध तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ३-० ले क्लिन स्विप गरेको छ।

केप टाउनमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको २८८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४९.२ ओभरमा २८३ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा भारतीय कप्तान केएल राहुल ९ रन बनाएर लुंगी एनगिडीबाट क्याच आउट भए। दोश्रो विकेटको लागि अर्का ओपनर शिखर धवनले बिराट कोहलीसंग ९८ रनको साझेदारी गरे। ६१ रन बनाएका धवनलाई बाईसौं ओभरमा फेलुक्वायोले क्याच आउट पारे। सोहि ओभरमा रिशभ पन्त पहिलो बलमै क्याच आउट भए। ८४ बलमा ५ चौका मद्दतले ६५ रन बनाएका कोहलीलाई केशव महाराजले बतिसौं ओभरमा क्याच आउट पारे। पाँचौ विकेटको लागि सुर्यकुमार यादव र श्रेयस ऐयरले ३९ रन जोडे। अडतीसौं ओभरमा ऐयर २६ रन बनाएर मगलाबाट क्याच आउट भए। ३९ रन बनाएका यादव पनि चालीसौं ओभरमा ड्वेन प्रिटोरियसबाट क्याच आउट भए। जयन्त यादव पनि २ रन मात्र बनाएर एनगीडीबाट क्याच आउट भए।

भारतलाई जित्न ६५ रन आवस्यक हुँदा साथमा ४ विकेट थियो रह्यो। दिपक चाहरले जस्प्रित बुम्राहसंग आठौँ विकेटको लागि अर्धशतकीय ( ५५ रन ) साझेदारी गर्दै जितको दिशा दिए। यस क्रममा चाहरले प्रिटोरियसले गरेको ४४ औं ओभरमा दुई छक्का प्रहार गरे जुन ओभरमा १६ रन आयो। त्यस ओभरपछि भारतले खेलमा दबाब बनायो। जित्न ९ रन आवस्यक हुँदा चाहरलाई एनगिडीले क्याच आउट पारे। त्यस अघि चाहरले ३४ बलमा ५ चौका र २ छक्का मद्दतले ५४ रन बनाए।

जित्न अन्तम दुई ओभरमा ८ रन आवस्यक रह्यो। ४९ औं ओभरको तेश्रो बलमा १२ रन बनाएका जस्प्रित बुम्राहलाई फेलुक्वायो क्याच आउट पारे। ओभरमा मात्र २ रन बन्यो जसपछि अन्तिम ओभरमा जित्न भारतलाई एक विकेट बाँकी रहंदा ६ रन आवस्यक रह्यो। अन्तिम ओभरको दोश्रो बलमा प्रिटोरियसले युज्भेन्द्र चाहललाई क्याच आउट पार्दै खेल जिताए।

दक्षिण अफ्रीकाको बलिंगमा लुंगी एनगीडी ( १०-०-५८-३ ) र एन्डीले फेलुक्वायोले ( ७-०-४०-३ ) समान तिन विकेट तथा ड्वेन प्रिटोरियसले दुई विकेट ( ९.२-०-५४-२ ) लिए। सिसान्डा मंगला ( १०-०-६९-१ ) र केशव महाराज ( १०-०-३९-१ ) ले समान एक विकेट लिए।

डीककले शतक बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ४९.५ ओभरमा २८७ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको ब्याटिंगमा क्विन्टन डीककले एकदिवसीय करियरको १७ औं शतक बनाउने क्रममा १२४ रन बनाए। उनले १३० बलमा १२ चौका र २ छक्का प्रहार गरे। भारत बिरुद्ध डीककको यो छैठौं शतक हो। यस क्रममा डीककले भारत बिरुद्ध मात्र १६ इनिंग्समा १ हजार रन समेत पुरा गरे। यस्तै रसि भानडर डुसेनले ५२ रन, डेभिड मिलरले ३९ तथा ड्वेन प्रिटोरियसले २० रन बनाए।

दक्षिण अफ्रीकाको सुरुवात राम्रो रहन सकेन। दिपक चाहरले जानेमन मलान ( १ ) र एडेन मारक्रम ( १५ ) लाई क्याच आउट गरे भने तेम्बा बभुमा ८ रन बनाएर रन आउट भए। ७०/३ को अवस्थाबाट ओपनर क्विन्टन डीककले रसि भान दर डुसेनसंग १४३ रनको साझेदारी गरे। डीककलाई ३६ औं ओभरमा जस्प्रित बुम्राहले क्याच आउट पारे। लगत्तै ओभरमा डुसेनलाई युज्भेन्द्र चाहलले क्याच आउट पारे। सातौँ विकेटको लागि डेभिड मिलरले ड्वेन प्रिटोरियससंग ४४ रनको साझेदारी गरे। मिलर अन्तिम ओभरमा प्रसिध कृष्णाबाट क्याच आउट भए। अन्तिम ५ ओभरमा दक्षिण अफ्रीकाले ३१ रन बनाउदा ४ विकेट गुमायो।

भारतको बलिंगमा सिरिजमा पहिलो पटक मौका पाएका प्रसिध कृष्णाले तिन विकेट ( ९.५-०-५९-३ ) तथा दिपक चाहर ( ८-०-५३-२ ) , जस्प्रित बुम्राह ( १०-०-५-२ ) समान दुई विकेट लिए। युज्भेन्द्र चाहलले एक विकेट ( ९-०-४७-१ ) लिए।

२०७८ माघ ९, आईतवार मा प्रकाशित