ब्रेण्डन टेलरको खुलासा ‘भारतीय व्यापारीले फिक्सिंगको लागि गरे ब्ल्याकमेल’

जिबब्वेका पूर्व कप्तान ब्रेण्डन टेलरले एक भारतीय व्यापारीले आफूलाई ‘म्याच फिक्सिंग’ को लागि ब्ल्याकमेल गरेको आरोप लगाउदै उक्त कुरा आईसीसीलाई ढिला जानकारी गराएका कारण आफूलाई लामो प्रतिबन्ध लाग्न सक्ने खुलासा गरेका छन्।

टेलरले आफूले गरेको गल्ति सामाजिक संजाल ट्वीटरमा स्वीकार गर्दै भारतीय व्यवसायीले प्रायोजक दिलाउने र जिम्बाब्वेमा एउटा टि-ट्वान्टी प्रतियोगिता गराउने विषयमा छलफल गर्न निम्तो दिएको बताएका छन्। उक्त व्यापारीको नाम भने उनले खुलासा गरेका छैनन् जसले उनलाई २०१९ मा १५ हजार डलर दिएका थिए।

टेलरले बताएका छन् – “हामीले संगै रक्सि खायौं र राति मलाई कोकिन पनि दिईयो। उनीहरु आफै पनि कोकिन लिईरहेका थिए। मुर्खतापूर्वक मैले त्यसको सेवन गरे। यो घटना पछि मलाई अहिलेसम्म लाखौं पटक पछुतो भएको छ। उनीहरुले त्यो रात मेरो त्यसरी प्रयोग गरेको कुरा लुकाएर राखेकोमा मलाई पछुतो छ।”

“अर्को दिन बिहान उनीहरु मेरो होटलको कोठामा आए र मैले कोकिन लिंदै गरेको भिडियो मलाई देखाए। उनीहरुले मलाई अन्तर्राष्ट्रिय खेलमा फिक्सिंग गर्नु नत्र मेरो उक्त भिडियो सार्वजनिक गर्ने धम्कि दिए। मलाई १५ हजार डलर दिएर म्याच फिक्सिंग गर्न बताईएको थियो। मलाई बताईएको थियो कि अझै २० हजार डलर दिईनेछ। मैले आफ्नो सुरक्षालाई ध्यानमा राखेर उक्त प्रस्ताव स्वीकार गरे। मैले त्यो रकम स्वीकार गरे किनकि म भारतबाट सुरक्षित तरिकाले बाहिर निस्कन सकूँ।”

“मलाई आफ्नो सुरक्षाको चिन्ता थियो। मेरो होटलको कोठामा ६ जना थिए। म उनीहरुको जालमा फासीसकेको थिएँ। म आफ्नो मर्जीले यस्तो स्थितिमा फसेको थिए जसले मेरो जीवनलाई पूर्णतः बदल्यो।”

“त्यो समय जिम्बाब्वे क्रिकेटले हामीलाई ६ महिनाको तलब दिएको थिएन र हामि अन्तर्राष्ट्रिय स्तरमा खेल्ने या नखेल्ने प्रश्न उठीरहेको थियो।”

“मैले त्यस पछि कुनै पनि गलत काम गरेको छैन। यो घटनाले म गहिरो चिन्तामा थिए। डिप्रेसनसम्मको औषधि मैले खानु पर्यो। आफुलाई र परिवार सुरक्षित पार्न मैले यो घटनाको जानकारी चार महिना पछि आईसीसीलाई दिएँ।”

३५ वर्षीय टेलरले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु अघि देशक लागि २०५ एकदिवसीय, ३४ टेस्ट र ४५ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले आफुले गरेको गल्तिको परिणाम झेल्न तयार भएको र आईसीसीले उनलाई यो घटनाको कारण प्रतिबन्ध लगाउन सक्ने जानकारी लाग्न सक्ने बताएका छन्। आईसीसीले यस बारे हालसम्म खुलासा गरेको छैन।

२०७८ माघ १०, सोमबार मा प्रकाशित