तेश्रो खेलमा नेदरल्याण्डलाई ७५ रनले पराजित गर्दै अफगानिस्तानले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ।
कतारको दोहा स्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड ४२.४ ओभरमा १७९ रनमा समेटियो।
लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको नेदरल्याण्ड ओपनर स्कट एड्वार्ड्स र कोलिन एंकरम्यानले १०३ रनको साझेदारी गरे। २३ औं ओभरमा एड्वार्ड्सलाई कैस एहमदले एलबिडब्लु पारेपछि नेदरल्याण्डले लगातार विकेट गुमाउन पुग्यो। कप्तान पिटर सिला खाता नखोली आउट भए भने बोरिस गोर्ली ३ रन तथा बास डी लिडे ८ रन बनाएर आउट भए। एक किनार सम्हालीरहेका एंकरम्यानलाई राशिद खानले ३५ औं ओभरमा एलबिडब्लु पारे। त्यसपछि अफगानिस्तान खेलमा पूर्णतः हावी बन्यो। फलस्वरुप १५३/५ को अवस्थाबाट थप २६ रन जोड्दा सम्पूर्ण विकेट गुम्यो।
नेदरल्याण्ड ओपनर कोलिन एंकरम्यानले सर्वाधिक ८१ रन तथा स्कट एड्वार्ड्सले ५४ रन तथा सकिब जुल्फिकरले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। अफगानिस्तानका लेग स्पिनर कैस एहमदले ३ विकेट ( ७.४-०-३२-३ ) तथा राशिद खानले २ विकेट ( ९-०-३७-२ ) लिए। फजलहक फारुकी, मुजिब उर् रहमान, फरिद मलिक र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए।
टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट क्षेतीमा २५४ रन बनाएको थियो। उसको लागि नाजिबुल्लाह जद्रानले सर्वाधिक ७१ रन, रियाज हुसेनले ५० रन, रहमता शाहले ४८ रन तथा हस्मतुल्लाह शाहिदीले २८ रन योगदान दिए। हुसेन र रहमतले दोश्रो विकेटको लागि ८६ रनको तथा शाहिदी र जद्रानले चौंथो विकेटको लागि ६३ रनको साझेदारी गरे।
नेदरल्याण्ड बलर भिभिएन किंग्मा, क्लेटन फ्लोय्ड, ब्रेण्डन ग्लोभर, सकिब जुल्फिकर र आर्यन दत्तले समान एक विकेट लिए।
सिरिज अन्तर्गत पहलो र दोश्रो खेल अफगानिस्तानले ३६ र ४८ रनले जितेको थियो।