आहा ! रारा गोल्डकप : थ्रिस्टारलाई हराउदै आर्मी सेमीफाइनलमा

पोखरा रंगशालामा जारी २० औं आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत थ्रिस्टारलाई पराजित गर्दै विभागिय टोली नेपाल आर्मी सेमीफाइनलमा प्रवेश गरेको छ ।

आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब अन्तिम क्वाटरफाइनलको खेलमा आर्मी संग १–० ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । आर्मीलाई सेमीफाइनलमा पुर्‍याउन राजिव गुरुङको एक गोल प्रयाप्त रहन पुग्यो । पाँच पटकको उपाधि विजेता थ्रिस्टार संग क्वाटरफाइनलमा भिडेको आर्मीले खेलको ७० औं मिनेटमा पाएको अवसरलाई सदुपयोग गर्न पुग्यो । खेलको ६४ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका राजिवले थ्रिस्टारको डिफेन्सबाट भएको गल्तिको फाइदा उठाउँदै गोल गरे ।

आर्मी विरुद्ध गोल गर्न अगाडी वढिरहेका थ्रि स्टारका खेलाडीहरु मैदानको विच भागमा आइपुगेको बेला आर्मीले क्लियरेन्स गर्ने क्रममा डिफेन्स लाइन विट हुन पुग्यो । त्यो मौकाको फाइदा आर्मीले उठाउँदै २०७५ सालको आहा रारा उपाधि भिडन्तमा भएको हारको वदला समेत चुकायो । डिफेन्सलाइन अपलाई चकमा दिंदै राजिव एक्लै अगाडी वढ्दा थ्रि स्टारका किपर समेत उनलाई रोक्न अगाडी बढे । तर राजिवले किपरलाई समेत विट गर्दै खाली पोष्टतर्फ बललाई गोलको दिशा देखाए ।

खेलपछि प्रतिक्रिया दिंदै आर्मीका प्रशिक्षक राजु तामाङले बलियो टोली थ्रीस्टारसँग जीत हासिल भएकामा खुःशी व्यक्त गरे । लिग खेल्ने टोलीका पाँच खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले समेत टिम सेट हुन र फिनिसिङमा समस्या भएको उनको भनाई थियो । तामाङले मनाङसँगको सेमिफाइनलको खेलमा फिनिसिङमा सुधार ल्याउने योजना रहेको बताए ।

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो खेल्दा पनि रक्षापङ्क्तिका खेलाडी मैदानमा लड्न पुग्दा सोही क्षणमा गोल भएको बताए । उनले टोलीका केही खेलाडी घाइते भएकाले समेत आशातित प्रदर्शन सम्भव नभएको उल्लेख गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार शहीद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबकाबीचमा पहिलो सेमिफाइनल खेल हुने आयोजक सहाराले जनाएको छ । भोली हुने सेमीफाइनल खेल दर्शकहरुले हेर्न पाउने सहाराले जनाएको छ । तर त्यसका लागि स्वास्थ्यका सम्पूर्ण मापदण्ड संगै प्रशासनले जारी गरेको सूचना अनुसार रंगशाला प्रवेश गर्न पाउनेछन् ।
तस्विरः सुदर्शन रञ्जित ।

( साभार – पोखरास्पोर्ट्स )

२०७८ माघ ११, मंगलवार मा प्रकाशित