वेस्टइन्डिजले आगामी महिना भारत भ्रमणमा तिन वटा एकदिवसीय र त्यतिनै टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्दैछ। उक्त सिरिजको लागि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले टिमको घोषणा गरेको छ। दुवै सिरिजको लागि १८ सदस्यीय टिम घोषित गरिएको छ।
घोषित भारतीय टिममा कप्तान रोहित शर्माको पुनरागमन भएको छ। यस्तै उपकप्तानको जिम्मेवारी केएल राहुललाई दिईएको छ। टिममा रभी बिस्नोई र आभेस खानलाई मौका दिईएको छ। लेग स्पिनर बिस्नोईलाई आईपीएलको नयाँ टिम लखनउ सुपर जायन्टसले टिममा अनुबन्ध गरिसकेको छ।
टिममा चाईनम्यान बलर कुलदिप यादवको आगमन भएको छ भने ब्याटिंग अलराउण्डर दिपक हुडालाई पनि समाबेश गरेको छ। दुवै जना एकदिवसीय टिममा छन्। कुलदिपलाई लामो समय देखि टिम बाहिर राखीदै आएको थियो। दक्षिण अफ्रीका भ्रमणमा मिडल ओभरमा विकेट नआएपछि कुलदिपलाई बोलाइएको हो। रभीचन्द्रन आश्विनलाई भने दुवै टिममा राखिएको छैन जो घाइते छन्।
टिम घोषणासंगै बिसीसीआईले जस्प्रित बुम्राह र मोहम्मद शामीलाई आराम दिईएको जानकारी गराएको छ। यस्तै उपकप्तान केएल राहुलले पहिलो एकदिवसीय नखेल्ने समेत जाकारी गराएको छ। यस्तै घाइते अलराउण्डर रभीन्द्र जडेजा भने अझै पुरै ठिक भएका छैनन्। भेंकटेस ऐयरलाई टि-२० टिममा मात्र मौका दिईएको छ।
घोषित एकदिवसीय टिम : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गायकवाड़, शिखर धवन, बिराट कोहली, सूर्य कुमार यादव, श्रेयस अय्यर, दीपक हुड्डा, ऋषभ पंत (विकेटकीपर), दीपक चाहर, शार्दुल ठाकुर, चुजवेंद्र चहल, कुलदीप यादव, वाशिंगटन सुंदर , रवि बिश्नोई, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आभेस खान
घोषित टि-२० टिम : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ईशान किशन, बिराट कोहली, श्रेयस अय्यर, सूर्य कुमार यादव, ऋषभ पंत (विकेटकीपर), भेंकटेश अय्यर, दीपक चाहर, शार्दुल ठाकुर, रवि बिश्नोई, अक्षर पटेल, युजवेंद्र चहल, वाशिंगटन सुंदर, मोहम्मद सिराज, भुवनेश्वर कुमार, आभेस खान, हर्षल पटेल
भारत र वेस्टइन्डिज बीच एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेलहरु फेब्रुअरी ६, ९ र १२ तारिखमा नरेन्द्र मोदी स्टेडियम अहमदावादमा खेलिनेछ। त्यसपछि टि-ट्वान्टी सिरिज फेब्रुअरी १५, १८ र २० तारिखमा कोलकाताको इडन गार्डेनमा खेलिनेछ।