पुनरागमन खेलमा विमल घर्ति मगरले निर्णायक गोल गर्दा नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मौरिससलाई पराजित गरेको छ । त्रिपुरेश्वोरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले मौरेसिसलाई १-० गोलअन्तरले पराजित गरेको हो । यससँगै सन् २०१३ मा साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेका उनको गोलसंख्या ९ पुगेको छ ।
विमलले राष्ट्रिय टोलीमा २६ महिनापछि पुनरागमन गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमारविरुद्ध पछिल्लो पटक राष्ट्रिय टोलीबाट खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा थप आक्रामक खेल पस्केको नेपालले खेलको ५४ औं मिनेटमा सुरुवाती अग्रता लियो । अन्जन विष्टले मिलाएको शानदार थ्रु पासमा अफ साइड ट्रयाप बिट गर्दै विमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।
खेलमा अन्जन विष्टले गरेको दुईवटा प्रहार क्रसबारमा लागेर फर्किएको थियो । यस्तै, दोस्रो हाफको सुरुमै मोरिससका फर्नान्डो ज्याक्सनको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । खेलमा थप अन्य गोल नहुँदा नेपाल १-० ले विजयी भएको थियो ।
खेलमा नेपालबाट डिफेन्डर सुदिप गुरुङ र मिडफिल्डर आकाश बुढामगरले खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो ।