इंग्ल्यान्डले सिरिज बराबरी गर्दा कप्तान अलिको उत्कृस्ट अलराउण्ड प्रदर्शन

चौंथो खेलमा वेस्टइन्डिजलाई ३४ रनले पराजित गर्दै भ्रमण टोलि इंग्ल्यान्डले पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-२ को बराबरी गरेको छ।

बार्बेडोस स्थित केनिंगटन ओभलमा गय राति सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पुरै २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा १५९ रन मात्र बनाउन सक्यो।

वेस्टइन्डिजको लागि कायल मेयर्सले सर्वाधिक ४०, जेसन होल्डरले ३६, ब्रान्डन किंगले २६, निकोलस पुरनले २२ तथा काईरन पोलार्डले अविजित १८ रन बनाए। किंग र मेयर्सले ६४ रनको ओपनिंग साझेदारी गरेपछि उसका मध्यक्रम ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन्। इंग्ल्यान्ड कप्तान मोईन अलिले दुई विकेट ( ४-०-२८-२ ) तथा रिस टपलि , आदील रशिद र लियाम लिभिंगस्टोनले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट क्षेतीमा १९३ रन बनाएको थियो। उसको लागि चौंथो नम्बरमा ब्याटिंग गरेका मोईन अलिले मात्र २८ बलमा ६३ रन बनाए जुन क्रममा १ चौका र ७ छक्का प्रहार गरे। ओपनर जेसन रोयले ५२, जेम्स भिन्सले ३४ रन बनाए। दोश्रो विकेटक लागि रोय र भिन्सले ८५ रनको तथा चौंथो विकेटको लागि अलि र लिभिंगस्टोनले ६५ रनको साझेदारी गरे।

वेस्टइन्डिजको बलिंगमा जेसन होल्डरले तीन विकेट ( ४-०-४४-३ ) तथा रोमारियो शेफर्ड, अकेल होसेन र काईरन पोलार्डले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र तेश्रो खेल वेस्टइन्डिजले क्रमशः ९ विकेट र २० रनले जितेको थियो भने दोश्रो खेल इंग्ल्यान्डले १ रनले जितेको थियो। सिरिजको निर्णायक खेल जनवरी ३० तारिख ( आइतबार ) खेलिनेछ।

२०७८ माघ १६, आईतवार मा प्रकाशित