त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा घरेलु टोलि नेपालले दक्षिण अफ्रिकी राष्ट्र मौरिससलाई १-० गोलअन्तरले पराजित गर्यो । ५४ औं मिनेटमा फरवार्ड विमल घर्ति मगरले राष्ट्रिय टिममा पुनरागमन खेलमा गरेको गोलनै नेपालको जितमा निर्णायक बन्यो । उनले अन्जन विष्टको चलाखीपूर्ण पासमा अफ साइड ट्रयाप बिट गर्दै गरेको प्रहार पोलमा लागेर गोलमा परिणत भएको थियो ।
खेलपछि विमलको पुनरागमन बारे बोल्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनको गोलमा निकै खुशी भएता पनि उनि बारे थप चिन्तित भएको प्रतिक्रिया दिएका छन्-
“उनले गोल गरेकोमा म निकै खुशी छु र साथै चिन्तित पनि । यो गोलले उनलाई फेरी तल झार्न सक्छ । उनि हाम्रो लागि निकै महत्वपूर्ण छन्।” खेलपछि मिडियासँगको कुराकानीमा अल्मुताइरीले बताए ।
“अबको ४८ घण्टा उनको लागि निकै गाह्रो समय रहनेछ । विशेष गरि संचारकर्मी र समर्थकहरुबाट । विमलले हामीलाई एसिया कपमा छनोट गराउनुपर्छ भन्दै उनीहरुमा विमलबाट झनै आशा बढ्नेछ। हामीले यो ४८ घण्टा राम्रोसँग कटाउन सक्यौ भने उनि टिममा हुनेछन्। मैले उनलाई भनेको पनि यहि हो।” उनले थपे।
अल्मुताइरीले गोल गरेता पनि विमलले सोचे अनुरुप प्रदर्शन गर्ने र खेल दोहोर्याएर हेरेपछि उनले उक्त कुरा महसुस गर्ने बताए –
“भोलि बिहान सबै खेलाडीहरुले खेल पुनः हेर्नेछन्, विश्लेषण गर्नेछन् र म्याच रिपोर्ट तयार पार्नेछन् । मलाई लाग्छ विमलले विश्लेषण गर्न थालेपछि उनले हामीले सोचे अनुरुप खेल्न नसकेको महशुस गर्नेछन् ।”
“विमल एउटा खेलाडीमात्र हुन् । हामीले उनि नहुँदा पनि खेल्यौ र अब उनिसँगै खेल्छौ पनि । हामि एक टिम हौँ र एउटामात्र खेलाडीमा ध्यान दिने छैनौँ । कोहि टिमबाट आउट हुने बित्तिकै हामिसँग उनलाई प्रतिस्थापन गर्न अर्को खेलाडी हुनेछ। तत्कालको लागि संचारकर्मी, समर्थक तथा अन्य कोहीबाट पनि केहि नपढ्नु विमलको लागि महत्वपूर्ण छ । उनलाई हालको लागि ध्यान केन्द्रित भएर आराम गर्नुपर्ने हुन्छ । खेल पनि बिर्सिनुपर्ने हुन्छ ।”
विमलले राष्ट्रिय टोलीमा २६ महिनापछि पुनरागमन गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमारविरुद्ध पछिल्लो पटक राष्ट्रिय टोलीबाट खेलेका उनि प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहेका थिए । सन् २०१३ मा साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेका उनको अन्तराष्ट्रिय गोलसंख्या ९ पुगेको छ।
अल्मुताइरीले नेपाली फुटबलको अबको ध्यान एसियन कप छनोटमा हुने पनि बताएका छन् – “मोरिसससँगको जितले खुशी तुल्याएको छ । हामीले मैत्री खेलमा बटुलेको अनुभबले एसिएन कप छनोटमा राम्रो गर्नुपर्छ । यसले वरियतामा पनि सुधार गर्न सहयोग पुग्छ । आज विमलले मात्र होइन, सबै खेलाडीले मनैबाट खेले । मोरिसस शारिरिक रुपमा बलियो थियो । दोस्रो हाफमा हामीले राम्रो खेल्यौँ । केही मौकापनि गुमायौँ । अर्को खेलमा थप राम्रो गर्नेछौँ”