डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ५ विकेटले पराजित गर्दै भारत वेस्टइन्डिजमा जारी अन्डर-१९ विश्वकपको सेमीफाइनल पुग्ने चौंथो टिम बनेको छ। गत यु-१९ विश्वकपको फाइनलमा बंगलादेशले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो।
एन्टीगुवामा गयराति सम्पन्न खेलमा बंगलादेशले दिएको ११२ रनको सामान्य लक्ष्य भारतले ३०.५ ओभरमा ५ विकेट क्षेतीमा भेटायो। भारतको लागि ओपनर अंगकृष रघुबंशीले ४४, शैक रशिदले २६ तथा यश धुलले २० रन योगदान दिए। दोश्रो विकेटको लागि रघुबंशी र रशिदले ७० रनको साझेदारी गरे। बंगलादेश बलर रिपन मोन्डलले चार विकेट लिए।
टस हारेर ब्याटिंग गरेको बंगलादेशले ३७.१ ओभरमा १११ रनमा सम्पूर्ण विकेट गुमायो। उसको लागि एसएम मेहरोबले ३० रन बनाए। भारतका बलर रभी कुमारले तिन तथा भिकी ओस्टवालले दुई विकेट लिए।
यस अघिनै इंग्ल्यान्ड, अफगानिस्तान र अस्ट्रेलिया सेमीफाइनल पुगीसकेका छन्। भारतले दोश्रो सेमीफाइनलमा फेब्रुअरी २ तारिखमा अस्ट्रेलियासंग तथा पहिलो सेमीफाइनलमा फेब्रुअरी १ तारिखमा इंग्ल्यान्ड र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको अन्य क्वार्टरफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ११९ रनले, अफगानिस्तानले श्रीलंकालाई ४ रनले तथा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरेको थियो।