लगातार ४ विकेट लिंदै होल्डरको कीर्तिमान, वेस्टइन्डिजको सिरिज जित

जेसन होल्डरले ह्याट्रिक सहित पाँच विकेट लिंदा निर्णायक पाँचौ खेलमा भ्रमण टोलि इंग्ल्यान्डलाई १७ रनले पराजित गर्दै वेस्टइन्डिजले पाँच खेलको टि-ट्वान्टी सिरिज ३-२ ले जितेको छ।

बार्बेडोस स्थित केन्सिंगटन ओभलमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.५ ओभरमा १६२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

जितको लागि अन्तिम ओभरमा इंग्ल्यान्डलाई २० रन आवस्यक हुँदा साथमा ४ विकेट बाँकी थियो। तर उक्त ओभरको दोश्रो, तेश्रो, चौंथो र पाँचौ बलमा होल्डरले लगातार ४ विकेट लिंदै इंग्ल्यान्डलाई कुनै मौका दिएनन्। होल्डरले ७ रन बनाएका क्रिस जोर्डनलाई क्याच आउट गरे, लगत्तै बलमा ४१ रन बनाएका स्याम बिलिंग्सलाई उनले क्याच आउटनै पारे। ह्याट्रिक बलमा उनले आदील रशिदलाई क्याच आउट गरे। त्यसपछि पनि उनि रोकिएनन् र लगातार चौंथो विकेट लिने क्रममा सकिब मोहम्मदलाई बोल्ड गरे। खेलमा होल्डरले २.५ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए जुन उनको टि-२० अन्तर्राष्ट्रियमा उत्कृस्ट स्पेल समेत हो।

टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने होल्डर पहिलो वेस्टइन्डिज क्रिकेटर हुन्। यस्तै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार ४ बलमा ४ विकेट लिने होल्डर मात्र चौंथो बलर हुन्। गत वर्ष टि-ट्वान्टी विश्वकपमा आयरल्याण्डका कर्टिस क्याम्फरले नेदरल्याण्ड बिरुद्ध ४ बलमा ४ विकेट लिएका थिए। त्यस अघि श्रीलंकन फास्ट बलर लासिथ मालिंगाले २०१९ मा न्युजिल्यान्ड बिरुद्ध तथा राशिद खानले सोहि वर्ष आयरल्याण्ड बिरुद्ध लगातार ४ बलमा विकेट लिएका थिए।

इंग्ल्यान्डको ब्याटिंगमा जेम्स भिन्सले ५५ तथा स्याम बिलिंग्सले ४१ रन योगदान दिए। ११९ रनमा ६ विकेट गुमाएको अवस्थामा बिलिंग्सले क्रिस जोर्डनसंग ४३ रनको साझेदारी गर्दै जित दिलाउने प्रयास गरेका थिए। वेस्टइन्डिजको बलिंगमा जेसन होल्डरले पाँच विकेट ( २.५-०-२७-५ ) , अकेल होसेनले चार विकेट ( ४-०-३०-४ ) र ओडेन स्मिथले एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट क्षेतीमा १७९ रन बनाएको थियो। उसको लागि कप्तान काईरन पोलार्डले सर्वाधिक ४१ रन, रोभम्यान पावेलले ३५ रन, ब्राण्डन किंगले ३४ तथा निकोलस पुरनले २१ रन बनाए। किंग र मेयर्सले ५९ रनको ओपनिंग साझेदारी तथा पाँचौ विकेटको लागि पोलार्ड र पावेलले ७४ रनको साझेदारी गरे।

इंग्ल्यान्ड बलर आदील रशिद ( ४-०-१७-२ ) र लियाम लिभिंगस्टोनले ( ३-०-१७-२ ) समान दुई विकेट लिए।

सिरिज अन्तर्गत वेस्टइन्डिजले पहिलो र तेश्रो खेल क्रमशः ९ विकेट र २० रनले जितेको थियो भने इंग्ल्यान्डले दोश्रो र चौंथो खेल क्रमशः १ रन र ३४ रनले जितेको थियो।

२०७८ माघ १७, सोमबार मा प्रकाशित