मरिसस बिरुद्ध दोश्रो खेलमा नेपाल विजयी, तनावपूर्ण खेलमा चार जनाले पाए रातोकार्ड

तनावपूर्ण रहेको खेलमा भ्रमण टोलि मरिससलाई १-० ले पराजित गर्दै नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिजको दुवै खेल जित्न सफल भएको छ। दशरथ रंगशालामा सम्पन्न खेल तनावपूर्ण रह्यो।

खेलमा नेपालको लागि एक मात्र गोल दशौँ मिनेटमा सुजल श्रेष्ठले गरे। नबिन गुरुङले कर्नर प्रहार गरेको बललाई गोलकिपरले बाहिर फालेका थिए, उक्त बललाई आशिष लामाले डीबक्स भित्र प्रहार गरे जसलाई पुजन उपरकोटीले ब्याक फ्लिप गरे पछि बक्स भित्र रहेका सुजलले गोल गरेका थिए। सुजलको राष्ट्रिय टिमको लागि यो तेश्रो गोल हो। अन्तिम पटक उनले २०१६ मा मकाउ बिरुद्ध गोल गरेका थिए।

गोल गरेको तिन मिनेट नबित्दै मोरीससले पेनाल्टी अवसर पाएको थियो तर कप्तान किरण चेम्जोङले एन्डी सोफीले प्रहार गरेको पेनाल्टीलाई दायाँतर्फ डाइभ गर्दै जोगाए। मोरिससका लिन्सले ब्रेसलाई दिनेश राजबंशीले फउल गर्दा पेनाल्टी पाएको थियो।

दोश्रो हाफको खेल भने तनावपूर्ण रह्यो। अन्जन बिस्टलाई एड्रियन बोटलरले फल गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। खेलको ७१ औं मिनेटमा दुवै टिमका एक/एक खेलाडीले रातो कार्ड पाए। मोरिससका एड्रियन बोटलर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए। तनावको बीच मैदान प्रवेश गरेका गोलरक्षक विकास मल्लले समेत रातो कार्ड पाए। त्यसपछि ७९ औं मिनेटमा मोरिसका इमानुयल फुलचन्डले पनि नेपाली खेलाडी गौतम श्रेष्ठलाई खराब ट्याकल गर्दा रातो कार्ड पाए। खेलमा तीन खेलाडी र एक अफिसियलले रातो कार्ड पाए फलस्वरुप नेपाल १० र मोरिसस ९ खेलाडीमा सिमित रह्यो। खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाए।

दोश्रो हाफमा दुवै पक्षले अवसर सिर्जना गरेता पनि गोल भने हुन सकेन र सुजलको गोलनै निर्णायक रहन पुग्यो।

खेलको प्लेयर अफ द म्याच किरण चेम्जोङ घोषित भए जसले ७५ हजार रुपैयाँ पुरस्कार पाए। कप्तान किरणले पेनाल्टी जोगाउनुको साथै खेलमा उत्कृस्ट गोलकिपिंग गरे।

यसअघि शनिबार भएको पहिलो खेलमासमेत नेपाल १-० ले विजयी भएको थियो । शनिवार सम्पन्न उक्त खेलमा नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए।

२०७८ माघ १८, मंगलवार मा प्रकाशित