पेशावर जाल्मीलाई २९ रनले पराजित गर्दै लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिगमा दोश्रो जित दर्ता गरेको छ।
पाकिस्तानक कराँची स्थित नेसनल स्टेडियममा लाहोरले दिएको २०० रनको लक्ष्य पछ्याएको पेशावरले पुरै २० ओभर ब्याटिंग गर्दा ९ विकेट क्षेतीमा १७० रन मात्र बनाउन सक्यो।
पेशावरको लागि हैदर अलिले ४९, कामरान अकमलले ४१ रन तथा शर्फेन रुथरफोर्डले २१ रन योगदान दिए। खाता नखोली ओपनर हज्रतुल्लाह जजाई आउट भएपछि दोश्रो विकेटको लागि अकमलले हुसेन तलतसंग ६२ रनको साझेदारी गरेका थिए। तर नवौं ओभरमा तलत र अकमललाई जमान खानले पेभेलियन फर्काए। त्यसपछि लाहोर खेलमा हावी रह्यो।
लाहोरका पेसर जमान खानले तिन विकेट ( ४-०-३२-३ ) , कप्तान शाहिन अफ्रिदी ( ४-०-१९-२ ) र डेभिड विसाले ( २-०-११-२ ) समान दुई विकेट तथा राशिद खानले एक विकेट लिए।
टस हारेर ब्याटिंग गरेको लाहोरले २० ओभरमा ४ विकेट क्षेतीमा १९९ रन बनाएको थियो। उसको लागि ओपनर फखर जमानले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ३८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। अब्दुलाह शफिकले ४१, मोहम्मद हफिजले अविजित ३७, कमरान घुलामले ३० तथा राशिद खानले अविजित २२ रन बनाए। शफिक र जमानले ९४ रनको ओपनिंग साझेदारी गरेका थिए। पाँचौ विकेटको लागि हफिज र राशिदले मात्र १४ बलमा ३९ रन जोडे।
पेशावरका बलर सल्मान इर्शादले २ तथा उस्मान कादिर र हुसेन तलतले समान एक विकेट लिए।
३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित लाहोर अंकतालिकाको दोश्रो स्थानमा छ। ४ खेलमा ४ वटै जितको साथ मुल्तान सुल्तान्स शिर्ष स्थानमा छ। ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित पेशावर पाँचौ स्थानमा छ।