आईसीसी विश्वकप लिग २ अन्तर्गत शिर्ष स्थानमा रहेको घरेलु टोलि ओमानलाई ४ विकेटले हराउँदै युएई अंकतालिकामा पाचौं स्थानमा उक्लिएको छ ।
ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा ३०८ रनको विजयी लक्ष्य पछ्याएको युएईले अन्तिम ओभर बाँकी रहँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
उसका लागि ओपनर ब्याटर चिराग सुरीले १२५ बलमा १२ चौका र ५ छक्काको मद्धतमा सर्वाधिक ११५ रन बनाए । यससंगै युएई ब्याटरले एकदिवसीय फर्म्याटमा बनाएको यो तेस्रो उच्च स्कोर हो । यसअघि खुराम खानले सर्वाधिक १३२* तथा रामिज शाहजादले दोस्रो सर्वाधिक १२१* रन बनाएका थिए । यस्तै, ब्रित्या अर्विंदले ८९ तथा बसिल अहमदले ६१ रनको योगदान दिए ।
एकदिवसीय फर्म्याटमा युएईले बनाएको यो सर्वाधिक योगफल हो । युएईले ३०० रन पार गरेको पनि यो मात्र दोस्रो पटक हो । यसअघि युएईले २००८ मा स्कटल्याण्डविरुद्ध ६ विकेट गुमाएर ३०० रन बनाएको थियो ।
खेलको पहिलो बलमै बिलाल खानले मुहम्मद वासिमलाई खाता नखोल्दै आउट पारेपछि चिराग सुरी र ब्रित्या अर्विंदले दोस्रो विकेटको लागि १८० रनको साझेदारी गर्दै युएईलाई बलियो स्थितिमा ल्याए । एकदिवसीय फर्म्याटमा यो युएईको लागि दोस्रो उच्च साझेदारी हो । यसअघि सिपि रिजवान र मुहम्मद उस्मानले आयरल्याण्डविरुद्ध चौथौं विकेटको लागि सर्वाधिक १८४ रनको साझेदारी गरेका थिए ।
कलिमुल्लाहले ३४ औं ओभरमा अर्विंदलाई आयान खानबाट क्याच आउट गराउंदै साझेदारी तोडे । त्यसपछि चिराग सुरीलाई बिलाल खानले तथा मुहम्मद उस्मानलाई २० रनमा आयान खानले आउट पार्दै ओमानलाई खेलमा फर्काए ।
अन्तिममा बसिल अहमदले ३३ बलमा ६ चौका र २ छक्काको मद्धतमा ६१ रन बनाउंदै युएईको जितको आधार तयार पारे । युएईलाई अन्तिम २ ओभरमा जितका लागि मात्र ३ रनको आवश्यक थियो । ४९ औं ओभरको पहिलो २ बलमा कलिमुल्लाहले बसिल अहमद र रोहन मुस्ताफालाई आउट पारेता पनि युएईले सहजै लक्ष्य पुरा गर्यो ।
ओमानको बलिंगतर्फ कलिमुल्लाहले सर्वाधिक ३, बिलाल खानले २ तथा आयान खानले १ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०७ रन बनाएको थियो । उसका लागि ओपनर ब्याटर जतिन्दर सिंहले ९५ बलमा ४ छक्का र १४ चौकाको मद्धतमा सर्वाधिक १०६ रन बनाए । यस्तै, आयान खानले ७८, नसिम खुशीले ४२ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
खावर अलि ६ तथा कश्याप प्रजापति १९ रन रन बनाएर आउट भएपछि जतिन्दर सिंह र आयान खानले तेस्रो विकेटको लागि १०९ रनकोशतकीय साझेदारी गरे । जतिन्दरलाई जाहुर खानले अहमद रजाबाट क्याच आउट गराउंदै साझेदारी तोडे । त्यसपछि निरन्तर रुपमा विकेट गएता पनि नसिम खुशीले २१ बलमा समान ३ चौका र ३ छक्काको मद्धतमा विस्फोटक ४२ रन बनाउंदै ओमानको योगफल ३०० रन पार गराएका थिए ।
युएईको बलिंगतर्फ काशिफ दौड र जाहुर खानले समान २ तथा जुनेद सिदिक्यु, रोहन मुस्ताफा र अहमद रजाले समान १ विकेट लिए ।
८ खेलमा ९ अंक जोडेको युएई नेपालभन्दा एक स्थानमाथि पाचौं स्थानमा उक्लिएको हो । नेपाल समान ८ खेलमा ८ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ । हार बाबजुद शिर्ष स्थानमा रहेको ओमानको भने २१ खेलबाट २९ अंक रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेको स्कटल्याण्डको १२ खेलबाट १६, तेस्रो स्थानमा रहेको अमेरिकाको १६ खेलबाट १४, चौथौं स्थानमा रहेको नामिबियाको ९ खेलबाट १० तथा अंकतालिकाको पुछारमा रहेको पिएनजीले भने १२ खेल खेल्दासमेत अंक जोड्न सकेको छैन ।
विश्वकप लिग २ अष्ट्रेलियामा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको छ ।