Ind vs WI : सुन्दर र चाहाल चम्कदा वेस्ट इन्डिजको सामन्य योगफल

भारत भ्रमण अन्तर्गतको पहिलो एकदिवसीय खेलमा जेशन होल्डरको शानदार अर्धशतक बाबजुद भ्रमण टोलि वेस्ट इन्डिज १७६ रनमा समेटिएको छ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको वेस्ट इन्डिज ४३.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७६ रनमा समेटियो । उसका लागि जेशन होल्डरले ७१ बलमा सर्वाधिक ५७ र फबियन एलियनले २९ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

ओपनर शाइ होपलाई ८ रनमा मोहम्मद सिराजले बोल्ड आउट गरेपछि ब्रेण्डन किंग र डरेन ब्राभोले दोस्रो विकेटको लागि ३१ रनको साझेदारी गरे । किंगलाई १३ रनमा वासिंगटन सुन्दरले सुर्यकुमार यादवबाट क्याच आउट पारे । त्यसपछि वेस्ट इन्डिजको ब्याटिंग क्रम धराशायी हुन पुग्यो । फलस्वरूप उसले थप ३५ रन जोड्दा ५ विकेट गुमायो ।

अन्तिममा जेशन होल्डर र फबियन एलियनले आठौँ विकेटको लागि ७८ रनको अर्धशतकीय साझेदारी गर्दै वेस्ट इन्डिजलाई सम्मानजनक योगफलतर्फ डोर्याए । एलियनलाई वासिंगटन सुन्दरले ३८ औं ओभरमा कट एण्ड बोल्ड आउट पार्दै साझेदारी तोडे । यस्तै, होल्डरलाई पनि प्रशिद कृष्णले ४१ औं ओभरमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट गराए । अन्तिममा अल्जारी जोशेफलाई युजभेन्द्र चाहालले आउट पार्दै वेस्ट इन्डिजलाई अल आउट पारे ।

भारतको बलिंगतर्फ युजभेन्द्र चाहालले (९.५-०-४९-४) सर्वाधिक ४ विकेट लिए । यस्तै, वासिंगटन सुन्दरले ३, प्रशिद कृष्णले २ तथा मोहम्मद सिराजले १ विकेट हात पारे ।

भारत भ्रमण अन्तर्गत दुई टोलीबीच समान ३ खेलको एकदिवसीय र टि-ट्वान्टी शृंखला खेलिने तालिका रहेको छ ।

२०७८ माघ २३, आईतवार मा प्रकाशित