विश्वकप लिग २ : रिजवान र हमिदको उच्च प्रदर्शनमा युएईले ओमानलाई हरायो

घरेलु टोलि ओमानलाई ४ विकेटले पराजित गर्दै विश्वकप लिग २ को अंकतालिकामा युएई चौथौं स्थानमा उक्लिएको छ । ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा पनि युएई ४ विकेटले नै विजयी भएको थियो ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा १९६ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । उसका लागि सिपि रिजवानले ११६ बलमा सर्वाधिक ७६* रन बनाए । यस्तै, चिराग सुरीले ४३,वृत्य अरविन्दले ३४ तथा मुहम्मद उस्मान र कशिफ दौडले समान १८ रनको योगदान दिए ।

ओपनर मुहम्मद वासिम ५ रनमा आउट भएपछि अर्का ओपनर चिराग सुरीले सिपि रिजवानसँग दोस्रो विकेटको लागि ७२ रनको साझेदारी गर्दै युएईको इनिंग्स अघि बढाए । सुरिलाई खावर अलिले आउट पार्दै साझेदारी तोडे । त्यसपछि रिजवानले १९ वर्षीय विकेटकिपर ब्याटर वृत्य अरविन्दसँग चौथौं विकेटको लागि ५० रनको साझेदारी गर्दै युएईको इनिंग्स सम्हाले ।

अरविन्दलाई कप्तान जेशन मक्सुदले आउट पारेपछि मुहम्मद उस्मान १८ तथा बसिल अहमद र रोहन मुस्ताफा खाता नखोल्दै आउट भएता पनि रिजवानले कशिफ दौडसँग अविजित २६ रनको साझेदारी गर्दै युएईलाई शानदार जित दिलाए ।

ओमानको बलिंगतर्फ बिलाल खानले ९.३ ओभरमा १ मेडनसहित ४७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, कलिमुल्लाह, जेशन मक्सुद र खावर अलिले समान १ विकेट लिए ।

यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको ओमानले ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि शोएब खानले ५९ बलमा ५ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ६८ रन बनाए । यस्तै, आयान खानले ३३, कश्याप प्रजापतिले २९ तथा जतिन्दर सिंहले १७ रनको योगदान दिए ।

ओपनर ब्याटर जतिन्दर सिंह १७ तथा खावर अलि ५ रन बनाएर आउट भए । त्यसपछि कश्याप प्रजापति २९ रनमा आउट भएपछि आयान खान र शोएब खानले चौथौं विकेटको लागि ९९ रनको साझेदारी गर्दै ओमानको इनिंग्स उकासे । शोएब खानलाई अहमद रजाले आउट पारेपछि ओमानको ब्याटिंग क्रम धराशायी बन्यो । फलस्वरूप उसले थप ३७ रन जोड्दा ६ विकेट गुमाउंदै १९५ रनमा समेटियो ।

युएईको बलिंगतर्फ बसिल हमिद ६.२ ओभरमा १७ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । यस्तै, अहमद रजाले २ तथा अकिफ रजा, जाहुर खान र रोहन मुस्ताफाले समान १ विकेट लिए ।

जितसँगै ९ खेलमा ११ अंक जोडेको युएई नामिबियालाई उछिन्दै अंकतालिकाको चौथौं स्थानमा उक्लिएको छ । नेपाल समान ८ खेलमा ८ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ । हार बाबजुद शिर्ष स्थानमा रहेको ओमानको भने २१ खेलबाट २९ अंक रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेको स्कटल्याण्डको १२ खेलबाट १६, तेस्रो स्थानमा रहेको अमेरिकाको १६ खेलबाट १४, पाचौं स्थानमा रहेको नामिबियाको ९ खेलबाट १० तथा अंकतालिकाको पुछारमा रहेको पिएनजीले भने १२ खेल खेल्दासमेत अंक जोड्न सकेको छैन ।

विश्वकप लिग २ २०२३ मा अष्ट्रेलियामा आयोजना हुने एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको छ ।

२०७८ माघ २३, आईतवार मा प्रकाशित