वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै भारतले आफ्नो एक हजारौँ खेलमा जित दर्ता गरेको छ । जितसँगै भारतले ३ खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ ।
एक हजारौँ एकदिवसीय खेल्ने पहिलो टोलि बनेको भारतले यसबीच ५१९ खेलमा जित निकाल्दा ४३१ खेलमा हार बेहोरेको छ । यस्तै, ९ खेल बराबरीमा तथा ४१ खेल नतिजाविहिनमा टुंगिएको छ ।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार सम्पन्न खेलमा जितका लागि १७७ रनको सामन्य विजयी लक्ष्य पछ्याएको भारतले २२ ओभर बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि कप्तान रोहित शर्माले ५१ बलमा सर्वाधिक ६० तथा इशान किशानले २८ रन बनाए । यस्तै, अविजित रहेका सूर्यकुमार यादवले र दिपक हुडाले क्रमशः ३४ र २६ रनको योगदान दिए ।
अर्धशतक बनाएका रोहित सचिन तेन्दुलकरलाई उछिन्दै वेस्ट इन्डिजविरुद्ध दोस्रो सर्वाधिक रन बनाउने भारतीय खेलाडी समेत बनेका छन् । उनले वेस्ट इन्डिजविरुद्ध ३२ इनिंग्समा १५८३ रन बनाएका छन् भने सचिनले १५७३ रन बनाएका थिए । यस्तै, उक्त टोलिविरुद्ध सर्वाधिक रन बनाएका विराट कोहलीले भने ३९ पारीमा २२४३ रन बनाएका छन् ।
ओपनरद्वय रोहित शर्मा र इशान किशानले ८४ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाए । अल्जारी जोशेपले रोहित र विराट कोहलीलाई (८) आउट पारे । त्यसपछि इशानलाई पनि स्पिनर अकिल हुसैनले फबिएन एलेनबाट क्याच आउट गराए भने विकेटकिपर ब्याटर ऋषभ पन्त ११ रनमा रन आउट हुन पुगे ।
एक समय १८ औं ओभरमा ११६ रनमा ४ विकेट गुमाएको भारतलाई सूर्यकुमार यादव र दिपक हुडाले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दै जितसम्म डोर्याए । उनीहरुले अविजित ६२ रनको साझेदारी गरे । हुडाको यो अन्तराष्ट्रिय खेलमा डेब्यु हो ।
वेस्ट इन्डिजको बलिंगतर्फ अल्जारी जोशेपले २ तथा अकिल हुसैनले १ विकेट लिए ।
यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको वेस्ट इन्डिज ४३.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७६ रनमा समेटिएको थियो । उसका लागि जेशन होल्डरले ७१ बलमा सर्वाधिक ५७ र फबियन एलियनले २९ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
ओपनर शाइ होपलाई ८ रनमा मोहम्मद सिराजले बोल्ड आउट गरेपछि ब्रेण्डन किंग र डरेन ब्राभोले दोस्रो विकेटको लागि ३१ रनको साझेदारी गरे । किंगलाई १३ रनमा वासिंगटन सुन्दरले सुर्यकुमार यादवबाट क्याच आउट पारे । त्यसपछि वेस्ट इन्डिजको ब्याटिंग क्रम धराशायी हुन पुग्यो । फलस्वरूप उसले थप ३५ रन जोड्दा ५ विकेट गुमायो ।
एक समय २२.५ ओभरमा ७९ रनमा ७ विकेट गुमाएको वेस्ट इन्डिजको पारीलाई जेशन होल्डर र फबियन एलियनले आठौँ विकेटको लागि ७८ रनको अर्धशतकीय साझेदारी गर्दै वेस्ट इन्डिजलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए ।
एलियनलाई वासिंगटन सुन्दरले ३८ औं ओभरमा कट एण्ड बोल्ड आउट पार्दै साझेदारी तोडे । यस्तै, होल्डरलाई पनि प्रशिद कृष्णले ४१ औं ओभरमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट गराए । अन्तिममा अल्जारी जोशेफलाई युजभेन्द्र चाहालले आउट पार्दै वेस्ट इन्डिजलाई अल आउट पारे ।
भारतको बलिंगतर्फ युजभेन्द्र चाहालले (९.५-०-४९-४) सर्वाधिक ४ विकेट लिए । यस्तै, वासिंगटन सुन्दरले ३, प्रशिद कृष्णले २ तथा मोहम्मद सिराजले १ विकेट हात पारे ।
भारत भ्रमण अन्तर्गत दुई टोलीबीच समान ३ खेलको एकदिवसीय र टि-ट्वान्टी शृंखला खेलिने तालिका रहेको छ ।