दोश्रो एकदिवसीयमा भ्रमण टोलि वेस्टइन्डिजलाई ४४ रनले पराजित गर्दै भारतले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी रहँदै २-० ले जितेको छ। वेस्टइन्डिज बिरुद्ध मैत्रीपूर्ण सिरिजमा भारतको यो लगातार एघारौं सिरिज जित हो।
नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा भारतले दिएको २३८ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४६ ओभरमा १९३ रनमा सम्पूर्ण विकेट गुमायो। वेस्टइन्डिजको लागि सम्राह ब्रुक्सले सर्वाधिक ४४, अकेल होसेनले ३४, शाई होपले २७, ओडेन स्मिथले २४ रन योगदान दिए। लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले पहिलो ५ विकेट ७६ रनमै गुमाएको थियो जसपछि भारत खेलमा हावी रह्यो।
भारतको बलिंगमा प्रसिध कृष्णाले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ९ ओभरमा ३ मेडन ओभर गर्दै मात्र १२ रन खर्चेर ४ विकेट लिए। शार्दुल ठाकुरले २ विकेट तथा मोहम्मद सिरिज, युजभेन्द्र चहल, वासिंगटन सुन्दर र दिपक हुडाले समान एक विकेट लिए।
टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २३७ रन बनाएको थियो। भारतको लागि सुर्यकुमार यादवले सर्वाधिक ६४ रन योगदान दिए। यस्तै केएल राहुलले ४९ रन, दिपक हुडाले २९, वासिंगटन सुन्दरले २४ तथा रिशभ पन्त र बिराट कोहलीले समान १८ रन योगदान दिए।
रोहित शर्मा, रिशभ पन्त र बिराट कोहली छिट्टै आउट हुँदा भारत ४३/३ को खराब अवस्थामा थियो। चौंथो विकेटको लागि केएल राहुल र सुर्यकुमार यादवले ९१ रनको साझेदारी गरे। राहुल ३० औं ओभरमा रन आउट भए भने सुर्यकुमार ३९ औं ओभरमा फाबीयन एलेनबाट क्याच आउट भए। त्यसपछि कुनै भारतीय ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाउदा ३२ रन बनायो।
वेस्टइन्डिजका बलर अल्जारी जोसेफ ( ९-०-२९-२ ) र ओडेन स्मिथ ( ७-०-२९-२ ) समान दुई विकेट तथा केमार रोच , जेसन होल्डर , अकेल होसेन र फाबीयन एलेनले समान एक विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल भारतले ६ विकेटले जितेको थियो। सिरिजको तेश्रो खेल फेब्रुअरी ११ तारिखमा खेलिनेछ।