फेब्रुअरी ११ ( शुक्रबार ) देखि सुरु हुने चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको लागि आयोजक ओमानले बुधबार १५ सदस्यीय टिमको घोषणा गरेको छ।
ओमानमा फेब्रुअरी १७ तारिख देखि सुरु हुने टि-ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप खेलिने सिरिजमा ओमान सहित नेपाल, आयरल्याण्ड र युएई सहभागी छन्।
गत वर्ष अक्टोबरमा ओमान र युएईमा आयोजित टि-ट्वान्टी विश्वकपमा सहभागिता पछि ओमानले पहिलो पटक टि-ट्वान्टी फर्म्याटमा खेल्न लागेको हो। उक्त विश्वकपमा ओमानले पपुवा न्यु गिनीलाई १० विकेटले पराजित गरेको थियो भने बंगलादेशसंग २६ रनले तथा स्कटल्याण्डसंग ८ विकेटले पराजित हुँदा पहिलो चरणबाट बाहिर भएको थियो।
घोषित ओमान टिम : जिशान मक्सुद ( कप्तान ) , जतिन्दर सिंह, कश्यप प्रजापति, शोयब खान, मोहम्मद नदीम, आयान खान, नेस्टर धाम्बा, सन्दिप गौड, नसिम खुसि ( विकेटकिपर ) , खवर अलि, आमिर कलिम, फयाज बट, कलेमुल्लाह, बिलाल खान, खुर्रम नवाज
ओमानको प्रमुख प्रशिक्षकमा पूर्व श्रीलंकन कप्तान दुलिप मेन्डीस रहेका छन् भने सहायक प्रशिक्षक मजहर खान तथा फास्ट बलिंग प्रशिक्षक अभिस्कर साल्भी छन्।
घोषित टिममा नियमित ओपनर अकिब इल्यास भने छैनन्। टि-२० विश्वकपमा राम्रो प्रदर्शन गरेका इल्यास बोन ट्युमरका कारण ६-७ महिना क्रिकेटबाट टाढा हुने छन्। गत साता इल्यासले समाजिक संजाल मार्फत आफुलाई बोन ट्युमर भएको तर क्यानसरजन्य भएका कारण सर्जरी गर्नु पर्ने बताएका थिए। उनको अभाव टिममा अवस्य खड्किनेछ। २५ खेलमा ५०१ रन बनाएका इल्यास टि-२० अन्तर्राष्ट्रियमा ओमानको चौंथो सर्वाधिक रनकर्ता हुन्।
इल्यासको स्थान युएई बिरुद्ध भर्खरै सम्पन्न विश्वकप एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा जतिन्दर सिंहसंग ओपनिंग गरेका कश्यप प्रजापतिले लिनेछन्। प्रजापतिले सिरिजको तेश्रो एकदिवसीयमा महत्वपूर्ण ५७ रन बनाएका थिए। उनले हालसम्म मात्र तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्।
टिममा कप्तान मक्सुद सहित जतिन्दर सिंह, खवर अलि,मोहम्मद नदीम, नसिम खुसि, आमिर कलिम, सन्दिप गौड, बिलाल खान, फयाज बट, कलेमुल्लाह, खुर्रम नवाज जस्ता अनुभवी खेलाडीहरु छन्।
सिरिजमा ओमानले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा नेपालसंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी १२ तारिखमा आयरल्याण्डसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा युएईसंग खेल्ने तालिका छ।
ओमान चारदेशीय सिरिजको खेल तालिका
फेब्रुअरी ११ : आयरल्याण्ड vs युएई , ओमान vs नेपाल
फेब्रुअरी १२ : नेपाल vs युएई , ओमान vs आयरल्याण्ड
फेब्रुअरी १४ : ओमान vs युएई , नेपाल vs आयरल्याण्ड