PSL : रिजवान कप्तानीको मुल्तानको लगातार छैठौं जित

पेशावर जाल्मीलाई ४२ रनले पराजित गर्दै मुल्तान सुल्तानले पाकिस्तान सुपर लिगमा अपराजित यात्रा कायम राख्ने क्रममा छैठौं जित दर्ता गरेको छ।

लाहोरको गद्दाफी स्टेडियममा मुल्तानले दिएको १८३ रनको लक्ष्य पछ्याएको पेशावरले १९.३ ओभरमा १४० रन मात्र बनाउन सक्यो। पेशावरको लागि शोयब मलिकले सर्वाधिक ४४ रन, लियाम लिभिंगस्टोनले २४, बेन कटिंगले २३ तथा शर्फेन रुथरफोर्डले २१ रन बनाए। ५१/४ को अवस्थाबाट पाँचौ विकेटको लागि मलिक र रुथरफोर्डले ५० रनको साझेदार गर्नु बाहेक खेलमा अन्य ठूलो साझेदारी हुन सकेन।

मुल्तानको बलिंगमा ब्लेसिंग मुजराबानि ( ४-०-१८-३ ) र खुशदिल शाहले ( ३.३-०-२६-३ ) समान तिन विकेट लिए। शाहनवाज दहानीले २ तथा अब्बास अफ्रिदी र इमरान ताहिरले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मुल्तानले २० ओभरमा ७ विकेट क्षेतीमा १८२ रन बनाएको थियो। उसको लागि ओपनर शान मसुदले ४९ बलमा ८ चौका र १ छक्का मद्दतले ६८ रन बनाए। मोहम्मद रिजवान र टिम डेभिडले समान ३४ रन बनाए। रिजवान र मसुदले ९८ रनको ओपनिंग साझेदारी गरेका थिए। पेशावरका बलर सकिब महमुद, वहाव रियाज र सलमान इर्शादले समान दुई विकेट लिए।

जितपछि मुल्तान खेलेको सबै ६ खेलमा जितको साथ १२ अंक सहित शिर्षमा छ। पेशावर ६ खेलमा २ जित र ४ हार पछि ४ अंक सहित पाँचौ स्थानमा छ।

२०७८ माघ २८, शुक्रबार मा प्रकाशित