तेश्रो खेलमा भ्रमण टोलि वेस्टइन्डिजलाई ९६ रनले पराजित गर्दै भारतले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ३-० ले क्लिन स्विप गरेको छ।
नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको २६६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। उसको लागि ओडेन स्मिथले ३६, निकोलस पुरनले ३४ तथा अल्जारी जोसेफले २९ रन योगदान दिए।
लक्ष्य पछ्याउने कर्ममा २५ रनमा ३ विकेट गुमाएपछि चौंथो विकेटको लागि कप्तान पुरनले डेरेन ब्राभोसंग ४३ रनको साझेदारी गरेका थिए। त्यसपछि पनि प्रसिध कृष्णाले घातक बलिंग गर्दै वेस्टइन्डिजको मध्येक्रम धरासायी बनाए। आठौँ विकेटको लागि स्मिथ र जोसेफले ४० रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त थिएन।
भारतको बलिंगमा मोहम्मद सिराज ( ९-१-२९-३ ) र प्रसिध कृष्णाले ( ८.१-१-२७-३ ) समान तिन विकेट तथा दिपक चाहर ( ९-१-४१-२ ) र कुलदिप यादवले ( ८-०-५१-२ ) समान दुई विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको भारतले ५० ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो। भारतको लागि श्रेयस ऐयरले सर्वाधिक ८० रन, रिशभ पन्तले ५६ रन, दिपक चाहरले ३८ तथा वासिंगटन सुन्दरले ३३ रन बनाए। कप्तान रोहित शर्मा १३, शिखर धवन १० तथा बिराट कोहली खाता नखोली आउट भएपछि चौथो विकेटको लागि ऐयर र पन्तले ११० रनको साझेदारी गरेका थिए। सातौं विकेटको लागि सुन्दर र चाहरले ५३ रनको साझेदारी गरे।
वेस्टइन्डिज बलर जेसन होल्डरले ४ विकेट ( ८-१-३४-४ ) लिंदा अल्जारी जोसेफ ( १०-१-५४-२ ) र हेडन वाल्शले ( १०-०-५९-२ ) समान दुई विकेट लिए। ओडेन स्मिथ र फाबीयन एलेनले समान एक विकेट लिए।
भारतले पहिलो र दोश्रो खेल क्रमशः ६ विकेट र ४४ रनले जितेको थियो। भ्रमण अन्तर्गत वेस्टइन्डिजले भारतसंग फेब्रुअरी १६, १८ र २० तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्ने तालिका रहेको छ।