नेपाल बिरुद्ध कीर्तिमान बनाएका सुरी प्लेयर अफ द म्याच

ओमानमा जारि चार देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपाल बिरुद्ध कीर्तिमानी स्कोर बनाएका चिराग सुरी प्लेयर अफ द म्याच घोषित भएका छन्।

नेपाललाई २५ रनले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको छ। खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट क्षेतीमा १६७ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच सुरीले ओपनिंग ब्याटिंग गर्दै अविजित ८४ रन बनाउने क्रममा ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। सुरीको यो टि-२० मा व्यक्तिगत सर्वाधिक स्कोर हो।

सुरीले बनाएको ८४ रन नेपाल बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रियमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। यस अघि यो रेकर्ड नेदरल्याण्डका बास डी लिडेको नाममा थियो जसले गत वर्ष कीर्तिपुरमा अविजित ८१ रन बनाएका थिए। टि-२० अन्तर्राष्ट्रिय नेपाल बिरुद्ध अर्धशतक बनाउने शैमन अनवर पछि सुरी मात्र दोश्रो ब्याट्सम्यान हुन्।

इनिंग्सको क्रममा सुरीले दोश्रो विकेटको लागि रोहन मुस्तफासंग ९७ रनको साझेदारी गरेका थिए। यो साझेदारी नेपाल बिरुद्ध कुनै पनि विकेटको लागि दोश्रो ठूलो साझेदारी हो। नेपाल बिरुद्ध कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी १३१ रन हो जुन २०१५ मा नेदरल्याण्डका मिचेल स्वार्ट र बेन कुपरले गरेका थिए। उक्त साझेदारी पनि दोश्रो विकेटको लागि थियो।

खेलमा युएईले अर्को ठूलो कीर्तिमान समेत बनाएको छ। युएईले बनाएको १९३ रन नेपाल बिरुद्ध उसको हालसम्मकै टि-२० अन्तर्राष्ट्रियमा उच्च योगफल हो भने समग्रमा नेपाल बिरुद्ध कुनै पनि देशको दोश्रो उच्च योगफल हो। गत वर्ष नेदरल्याण्डले कीर्तिपुरमा दोश्रो ब्याटिंग गर्दै नेपाल बिरुद्ध २०९ रन बनाएको थियो। नेपाल बिरुद्ध यस अघि युएईको उच्च स्कोर १५३ रन थियो जुन उसले २०१९ मा बनाएको थियो।

यस्तै २५ रनको जित नेपाल बिरुद्ध युएईको सबैभन्दा ठूलो रनअन्तरको जित हो। यस अघि नेपाल बिरुद्ध युएईको ठूलो रन अन्तरको जित २१ रनको थियो।

२०७८ माघ २९, शनिबार मा प्रकाशित