आईपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किन्यो, इशान बने हालसम्मको महँगो

इन्डियन प्रिमियर लिगको मेगा अक्सन भारतको बैंगलोरमा जारि छ। ४ वर्ष पछि आईपीएलको मेगा अक्सन भैरहेको छ जसमा १० फ़्रेन्चाइजले खेलाडीहरुलाई समाबेश गर्न अक्सनमा करोडौं वर्षा गरिरहेका छन्।

शनिवार र आइतबार दुई दिनसम्म चल्ने अक्सन जारी रहंदा यो समाचार तयार गर्दा सम्म २८ जना खेलाडी बिक्रि भएका छन् भने ८ जना खेलाडी बिक्रि भएनन्।

मुम्बई इन्डीएन्स : हालसम्म सबैभन्दा महँगो मूल्यमा बिक्रि भएका खेलाडी इशान किशन हुन्। किशनलाई मुम्बई इन्डीएन्सले हालसम्मकै सबैभन्दा धेरै १५ करोड २५ लाख भारुमा टिममा भित्र्याएको हो। मुम्बईले हालसम्म अन्य खेलाडी भित्र्याएको छैन।

कोलकाता नाइट राइडर्स : कोलकताले भारतीय ब्याट्सम्यान श्रेयस ऐयरलाई १२ करोड २५ लाख भारुमा टिममा भित्र्याएको छ। यस्तै कोलकाताले अलराउन्डर नितिश रानालाई ८ करोड भारु तथा अस्ट्रेलियन अलराउण्डर प्याट कमिन्सलाई ७ करोड २५ लाख भारुमा भित्र्याएको छ।

लखनउ सुपर जायन्टस : नयाँ टिम लखनउले वेस्टइन्डिज अलराउण्डर जेसन होल्डरलाई ८ करोड ७५ लाख भारुमा भित्र्याएको छ। यस्तै दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककलाई ६ करोड ७५ लाख भारुमा भित्र्याएको छ। यस्तै अर्का अलराउण्डर क्रुनाल पान्ड्यालाई ८ करोड २५ लाख भारु तथा दिपक हुडालाई ५ करोड ७५ लाख भारु खर्चेको छ। यस्ता ब्याट्सम्यान मनिष पाण्डेलाई ४ करोड ६० लाख भारु खर्चेको छ।

पन्जाब किंग्स : पन्जाब किंग्सले दक्षिण अफ्रिकी पेसर कागीसो रबाडालाई ९ करोड २५ लाख भारुमा भित्र्याएको छ। यस्तै ब्याट्सम्यान शिखर धवनलाई ८ करोड २५ लाख भारु तथा इंग्ल्यान्ड विकेटकिपर ब्याट्सम्यान जोने बेयरस्टोलाई ६ करोड ७५ लाख भारुमा लिएको छ।

राजस्थान रोयल्स : राजस्थानले वेस्टइन्डिज ब्याट्सम्यान शिमरन हेटमायरलाई ८ करोड ५० लाख भारुमा भित्र्याएको छ। यस्तै न्युजिल्यान्ड पेसर ट्रेन्ट बोल्टलाई ८ करोड भारुमा, ब्याट्सम्यान देभदत्त पडीक्कललाई ७ करोड ७५ लाख भारुमा भित्र्याएको छ। यस्तै भेट्रान अफ स्पिनर रभीचन्द्रन आश्विनलाई ५ करोड भारु खर्चेको छ।

रोयल च्यालेन्जर्स बैंगलोर : बैंगलोरले श्रीलंकन अलराउण्डर वानिन्दु हसरंगालाई १० करोड ७५ लाख भारु खर्चेको छ। यस्तै अर्का भारतीय अलराउण्डर हर्षल पटेललाई पनि सोहि मूल्यमा आवद्ध गरिएको छ। दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसिसलाई ७ करोड भारु तथा विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई ५ करोड ५० लाख भारु खर्चेर भित्र्याएको छ।

सनराइजर्स हैदरावाद : हैदरावादले वेस्टइन्डिज विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनलाई १० करोड ७५ लाख भारुमा तथा भारतीय अलराउण्डर वासिंगटन सुन्दरलाई ८ करोड ७५ लाख भारु खर्चेर भित्र्याएको छ।

चेन्नाई सुपर किंग्स : चेन्नाईले अम्बाती रायडुलाई ६ करोड ७५ लाख भारुमा भित्र्याएको छ। यस्तै विकेटकिपर ब्याट्सम्यान रोबिन उथप्पालाई २ करोड भारु तथा वेस्टइन्डिज अलराउण्डर ड्वेन ब्राभोलाई ४ करोड ४० लाख भारु खर्चेको छ।

दिल्ली क्यापिटल्स : दिल्लीले अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरलाई ६ करोड २५ लाख भारुमा भित्र्याएको छ। यस्तै अर्का अस्ट्रेलियन अलराउन्डर मिचेल मार्शलाई ६ करोड ५० लाख भारु खर्चेको छ।

गुजरात टाईटन्स :
गुजरातले भारतीय पेसर मोहम्मद शामीलाई ६ करोड २५ लाख भारुमा भित्र्याएको छ। यस्तै जेसन रोयलाई २ करोड भारु खर्चेको छ।

बिक्रि नभएका खेलाडीहरु : स्टार भारतीय ब्याट्सम्यान सुरेश रैना, बंगलादेश अलराउण्डर शाकिब अल हसन तथा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथलाई कुनै पनि टिमले लिएका छैनन्। सबैले बेस प्राइस २ करोड भारु राखेका थिए। यस्तै स्याम बिलिंग्स, रिद्दिमान शाह, म्याथु वेड, मोहम्मद नाबी र डेभिड मिलरलाई पनि पहिलो चरणमा कुनै पनि टिमले लिएका छैनन्।

कुन टिमसंग कति रकम बाँकी : अब खेलाडी लिन सनराइजर्स हैदरावादसंग ४८.५ करोड भारु, पन्जाबसंग ४७.७५ करोड भारु तथा गुजरातसंग ४३.७५ करोड भारु बाँकी छ। चेन्नाईसंग ३४.८५ करोड भारु, दिल्लीसंग ३४.७५ करोड भारु, कोलकातासंग २०.५ करोड, लखनउसंग २४.९ करोड भारु, मुम्बईसंग ३२.७५ करोड भारु, राजस्थानसंग ३२.७५ करोड भारु तथा बैंगलोरसंग २३ करोड भारु बाँकी छ।

२०७८ माघ २९, शनिबार मा प्रकाशित