ओमानमा जारी चार देशीय टि-२० सिरिज अन्तर्गत आयोजक ओमानले लगातार दोश्रो हार बेहोरेको छ। पहिलो खेलमा नेपालसंग ६ विकेटले पराजित ओमान दोश्रो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसंग ९ विकेटले पराजित भएको हो।
अल अमिरात मैदानमा ओमानले दिएको १३८ रनको लक्ष्य आयरल्याण्डले १७.१ ओभरमा मात्र १ विकेट क्षेतीमा भेटायो।
लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड ओपनर तथा कप्तान पल स्टरलिंग र एन्ड्रयु बालबर्नीले १०३ रनको ओपनिंग साझेदारी गरे। ४२ बलमा ३ चौका र ३ छक्का मद्दतले ५१ रन बनाएर स्टरलिंग आउट भएपछि बालबर्नी र गेरेथ डेलानिले टिमलाई जितसम्म पुर्याए। विकेटकिपर ब्याट्सम्यान बालबर्नीले ४९ बलमा अविजित ७५ रन बनाए जुन क्रममा ७ चौका र ३ छक्का प्रहार गरे। डेलानिले अविजित १२ रन बनाए। ओमानको लागि एक मात्र विकेट खवर अलिले लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको ओमनाले १९.२ ओभरमा १३७ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि शोयब खानले सर्वाधिक ५७ रन बनाए भने नसिम खुसिले २४ तथा आयान खानले २२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। शोयब र आयानले तेश्रो विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए जुन इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।
आयरल्याण्डको बलिंगमा दायाँ हाते पेसर मार्क अडेर ( ३.२-०-२५-३ ) र अफस्पिनर सिमि सिंहले ( ४-०-९-३ ) समान तिन विकेट लिए। क्रेग योंगले २ तथा कर्टिस क्याम्फरले १ विकेट लिए।
सिरिज अन्तर्गत यस अघि सम्पन्न दुईवटा खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा युएईले नेपाललाई २५ रनले पराजित गर्यो। सिरिज अन्तर्गत चौंथो खेलमा आइतबार आयरल्याण्ड र युएई प्रतिस्पर्धा गर्नेछन्। यस्तै सोमबार ओमान र युएई तथा आयरल्याण्ड र नेपाल बीच खेल हुनेछ।