टेस्ट राष्ट्र आयरल्याण्ड युएईद्वारा स्तब्ध

टेस्ट राष्ट्र आयरल्याण्ड बिरुद्ध ऐतिहासिक जित दर्ता गर्दै ओमानमा जारी चार देशीय टि-ट्वान्टी सिरिजमा युएईले लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा युएईले नेपाललाई पराजित गरेको थियो।

अल अमिरात मैदानमा सम्पन्न खेलमा युएईले दिएको १७९ रन लक्ष्य पछ्याएको आयरल्याण्डले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १६५ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड ओपनर पल स्टरलिंग पहिलो ओभरमा १ रन बनाएर रन आउट हुन पुगे। दोश्रो विकेटको लागि कप्तान एन्ड्रयु बालबर्नीले गेरेथ डेलानिसंग २९ बलमा ६४ रनको साझेदारी गरे। २० बलमा ५ चौका र २ छक्का मद्दतले ४० रन बनाएका डेलानिलाई मुस्तफाले छैठौं ओभरमा बोल्ड गरे। दशौँ ओभरमा बालबर्नीलाई कार्तिक मैयेपनले क्याच आउट पारे जस अघि २७ बलमा २ चौका र ३ छक्का मद्दतले ४२ रन बनाए। त्यसपछि कर्टिस क्याम्फरले पाँचौ विकेटको लागि लोर्कन टकरसंग ४२ रनको साझेदारी गरे।

जितको लागि अन्तिम ३ ओभरमा आयरल्याण्डलाई ३२ रन आवस्यक थियो। अठारौं ओभरमा २२ रन बनाएका टकर रन आउट हुन् पुगे। सोहि ओभरमा जर्ज डकरेल १ रन मात्र बनाएर क्याच आउट हुन पुगे। ओभरमा जहुरले मात्र ४ रन खर्चिए। त्यसपछि आयरल्याण्ड दबाबमा आयो। २ ओभरमा जित्न २८ रन आवस्यक हुँदा रोहन मुस्तफाले १९ औं ओभरमा मात्र ९ रन खर्चिए भने अन्तिम ओभरमा जहुर खानले मात्र ५ रन खर्चेर क्याम्फरको विकेट लिंदै जित सुनिस्चित पारे। क्याम्फरले ३९ बलमा २ चौका मद्दतले ४० रन बनाएता पनि जिताउन सकेनन्।

युएईको बलिंगमा कार्तिक मैय्यपनले २ ( ३-०-२३-२ ) तथा जहुर खानले १ विकेट ( ४-०-३५-१ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट क्षेतीमा १७८ रन बनाएको थियो। उसको लागि रोहन मुस्तफाले सर्वाधिक ५४ रन तथा भृत्य अरभिन्दले ५० रन बनाए।

ओपनर चिराग सुरी १३ तथा मुहम्मद वासिम १२ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि भृत्य अरभिन्द र रोहन मुस्तफाले ९४ रनको साझेदारी गरे। अरभिन्द र मुस्तफा दुवैलाई क्रेग योंगले बोल्ड गरे। त्यसपछि इनिंग्सको अन्तिममा कासिफ दाउदले ११ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित २८ रन बनाए।

आयरल्याण्ड बलर क्रेग योंगले ४ विकेट ( ४-०-२८-४ ) तथा जोशुवा लिटलले १ विकेट लिए।

सिरिज अन्तर्गत आयरल्याण्डले पहिलो खेलमा आयोजक ओमानलाई ९ विकेटले पराजित गरेको थियो। सिरिजको अन्तिम दिन सोमबार ओमान र युएई तथा नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। नेपाल र आयरल्याण्ड बीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।

२०७८ फाल्गुन १, आईतवार मा प्रकाशित