सुपर ओभरमा पुगेको सनसनीपूर्ण खेलमा अस्ट्रेलियाद्वारा श्रीलंका पराजित

सुपर ओभरमा सम्पन्न दोश्रो खेलमा भ्रमण टोलि श्रीलंकालाई पराजित गर्दै अस्ट्रेलियाले पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-० को अग्रता हाँसिल गरेको छ।

सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा अस्ट्रेलियाले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। जवाफमा श्रीलंकाले पनि २० ओभरमा ८ विकेट क्षेतीमा १६४ रननै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा के भयो :
सुपर ओभरमा पहिले ब्याटिंग गरेको श्रीलंकाले १ विकेट गुमाएर ५ रन मात्र बनाउन सक्यो। जोश हेजलवुडले शानदार बलिंग गर्दै पहिलो २ बलमा दाशुन शनाकालाई रननै दिएनन्। तेश्रो बलमा शनाकाले बाईको रुपमा १ रन लिए तर अर्को रन लिने क्रममा दिनेश चण्डीमाल रनआउट भए। चौंथो बलमा शनाकाले १ रन लिए। पाँचौ बलमा पथुम निसंकाले २ रन लिए भने अन्तिम बलमा १ रन लिए। अस्ट्रेलियाले सुपर ओभरमा पाएको ६ रनको लक्ष्य ३ बलमै भेटायो। वानिन्दु हसरंगाले गरेको पहिलो बलमा ग्लेन म्याक्सवेलले १ रन लिए भने त्यसपछिको दुई बलमा मार्कस स्टोइनिसले लगातार चौका प्रहार गर्दै जित दिलाए।

कसरि पुग्यो सुपर ओभरमा खेल : लक्ष्य पछ्याउने क्रममा श्रीलंकालाई अन्तिम ३ ओभरमा जित्न ४६ रन आवस्यक थियो र साथमा ४ विकेट बाँकी थियो। अठारौं ओभरमा प्याट कमिन्सलाई वानिन्दु हसरंगाले दुई चौका र पथुम निसंकाले एउटा छक्का प्रहार गरेपछि ओभरमा कुल १७ रन बन्यो। २ ओभरमा २९ रन आवस्यक रहंदा उन्नाईसौं ओभरमा हेजलवुडले १० रन खर्चेर ओभरको अन्तिम बलमा हसरंगाको विकेट लिए। अन्तिम ओभरमा जित्न १९ रन आवस्यक रह्यो।

मार्कस स्टोइनिसले गरेको अन्तिम ओभरको सुरुवात वाइड बाट गरे भने त्यसपछिको बलमा निसंकाले चौका प्रहार गरे। लगत्तै बलमा दुई रन लिएपछि निसंका क्याच आउट भए। अब ३ बलमा जित्न १२ रन आवस्यक रह्यो। क्रिजमा आएको पहिलो बलमा महेश तिक्षनाले छक्का प्रहार गरे। त्यसपछिको बलमा उनले १ रन लिए। अन्तिम बलमा जित्न ५ रन आवस्यक आवस्यक हुँदा दुश्मन्था चमिराले चौका हिर्काउदा खेल सुपर ओभरमा पुग्यो।

श्रीलंकाको लागि ओपनर पथुम निसंकाले सर्वाधिक ७३ रन, कप्तान दासुन शनाकाले ३४ रन, दिनेश चण्डीमालले १९ रन तथा वानिन्दु हसरंगाले १३ रन बनाए। दुश्मन्था चमिराले अविजित ४ तथा महेश तिक्षनाले अविजित ६ रन बनाए। २५ रनमा ३ विकेट गुमेको अवस्थामा निसंकाले अन्तिम ओभरसम्म ब्याटिंग गरेका थिए। अस्ट्रेलियाका बलर जोश हेजलवुडले ३ विकेट ( ४-०-२२-३ ) लिए भने प्याट कमिन्स, मार्कस स्टोइनिस, केन रिचर्डसन र एडम जाम्पाले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट क्षेतीमा १६४ रन बनाएको थिओ। उसको लागि जोश इंगलिशले सर्व्धिक ४८ रन बनाए भने कप्तान आरोन फिंचले २५, मार्कस स्टोइनिसले १९ तथा बेन म्याकडरमटले १८ रन बनाए। श्रीलंकन बलर दुश्मन्था चमिरा ( ४-०-३०-२ ) र वानिन्दु हसरंगाले ( ४-०-३३-२ ) समान दुई विकेट तथा नुवान थुशारा र महेश तिक्षनाले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल अस्ट्रेलियाले २० रनले जितेको थियो। सिरिजको तेश्रो खेल १५ फेब्रुअरीमा खेलिनेछ। चौंथो र पाँचौ खेल १८ र २० फेब्रुअरीमा हुनेछ।

२०७८ फाल्गुन १, आईतवार मा प्रकाशित