आईपीएल २०२२ को भारतको बैंगलोरमा जारी मेगा अक्सनमा सिंगापुरका अलराउण्डर टिम डेभिडलाई मुम्बई इन्डीएन्सले ८.२५ करोड भारू अर्थात् १३ करोड २० लाख नेपाली रुपैयाँ खर्चेर टिममा भित्र्याएको छ।
४० लाख भारु बेस प्राइस राखेका डेभिडले अक्सनमा त्यति धेरै मूल्य पाउने कुरा धेरै कमले अनुमान गरेका थिए। डेभिडलाई आईपीएल २०२१ को मिनी अक्सनमा रोयल च्यालेन्जर्स बैंगलोरले किनेको थियो जो आईपीएल छनोट हुने सिंगापुरका पहिलो क्रिकेटर बन्न सफल भएका थिए। २५ वर्षीय दायाँ हाते ब्याट्सम्यान तथा अफ स्पिनर डेभिडले २०१९ मा कतार बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
पुढील स्टेशन, Wankhede 🔊
अगला स्टेशन, Wankhede 🔊
Next station, Wankhede 🔊Welcome, @timdavid8 💙#OneFamily #MumbaiIndians #AalaRe #IPLAuction pic.twitter.com/oFrhOMu8Lw
— Mumbai Indians (@mipaltan) February 13, 2022
डेभिडलाई मुम्बईले ठूलो मूल्य हाल्नुको कारण उनको विस्फोटक ब्याटिंग क्षमता हो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभिडले १४ खेलमा १५८.५२ को स्ट्राइक रेट र ४६.५० को औशतमा ४ अर्धशतक मद्दतले ५५८ रन बनाएका छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २५० बल भन्दा बढी सामना गर्ने ब्याट्सम्यानहरु मध्ये डेभिडको स्ट्राइक रेट विश्वकै तेश्रो धेरै हो। अन्तर्राष्ट्रिय क्रिकेटमा स्ट्राइक रेटमा उनले आन्द्रे रसेल, कोलिन मुनरो, शाहिद अफ्रिदी जस्ता ब्याट्सम्यानलाई पनि पछि छाडेका छन्। यस्तै समग्र टि-२० क्रिकेटमा उनले ८५ खेलमा ३४.६९ को औशत र १५९.३९ को शानदार स्ट्राइक रेटमा ९ अर्धशतक प्रहार गर्दै १,९०८ रन बनाएका छन्। यस्तै उनि अफ स्पिन बलिंग समेत गर्ने गर्छन्।
हाल पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तान्सको प्रतिनिधित्व गरिरहेका डेभिड उत्कृस्ट लयमा छन्। उनले लिगमा २०६.५४ को स्ट्राइक रेटमा रन बनाइरहेका छन् जुन क्रममा ७ खेलमा ५५.२५ को औशतले २२१ रन बनाइसकेका छन्। जारि पीएसएलमा २५ भन्दा बढी बल सामना गरेको मध्ये उनको स्ट्राइक रेट सबैभन्दा उच्च रहेको छ। उनि पीएसएलको जारि सिजन सातौँ सर्वाधिक रनकर्ता समेत हुन्। यस्तै डेभिडले भर्खरै सम्पन्न बिग ब्यास लिगमा समेत होबार्टबाट खेल्दै १६३.९० को स्ट्राइक रेटमा १५ खेलमा २१८ रन बनाएका थिए।
गत सिजन आईपीएलमा मात्र एक खेलमा मौका पाएका डेभिडले यो सिजन मुम्बईको प्रमुख ब्याट्सम्यानको भूमिका निभाउनेछन्। रोहित शर्मा कप्तानीको मुम्बईले अक्सनमा इशान किशनलाई १५.२५ करोड भारुमा भित्र्याएको छ। यस्तै जोफ्रा आर्चरलाई ८ करोड भारु खर्चेर भित्र्याएको छ। यस्तै डेवाल्ड ब्रेभिसलाई ३ करोड भारु, ड्यानियल स्याम्सलाई २.६ करोड भारु, जयदेव उनदकतलाई १.३ करोड भारु, टाईमल मिल्सलाई १.५ करोड भारु, राईलि मेरेडीथलाई १ करोड भारु, मुरुगन आश्विनलाई १.६० करोड भारु तिरेर भित्र्याएको छ। कप्तान रोहित शर्मा ( १६ करोड भारु ) , सुर्यकुमार यादव ( ८ करोड भारु ) , काईरन पोलार्ड ( ६ करोड भारु ) र जस्प्रित बुम्राह ( १२ करोड भारु ) लाई मुम्बईले अक्सन अघि रिटेन गरेको थियो।