चार देशीय सिरिज : कलिम र कश्यप चम्किंदा ओमानद्वारा युएई पराजित

युएईलाई ७ विकेटले पराजित गर्दै आयोजक ओमानले चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित दर्ता गरेको छ।

अल अमिरात मैदानमा युएईले दिएको १६५ रनको लक्ष्य ओमानले १९.३ ओभरमा ३ विकेट क्षेतीमा भेटायो। सिरिजमा ओमान पहिलो खेलमा नेपालसंग तथा दोश्रो खेलमा आयरल्याण्डसंग पराजित भएको थियो। युएईको भने यो पहिलो हार हो जसले पहिलो खेलमा नेपाललाई तथा दोश्रो खेलमा आयरल्याण्डलाई पराजित गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा ओपनर ओपनर कश्यप प्रजापतिले जतिन्दर सिंहसंग ४८ रनको ओपनिंग साझेदारी तथा दोश्रो विकेटको लागि शोयब खानसंग ७१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। प्रजापतिले अविजित ६९ रन बनाए जुन क्रममा ५३ बलमा ८ चौका प्रहार गरे। शोयब खानले ३४, जतिन्दर सिंहले २२, आयान खानले १६ तथा सन्दिप गौडले अविजित १२ रन बनाए। युएई बलर अकिफ राजा र बसिल हमिदले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट क्षेतीमा १६४ रन बनाएको थियो।

युएईको लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ४४ बलमा ३ चौका र ८ छक्का प्रहार गरे। रोहन मुस्तफा र भृत्य अरभिन्दले समान १९ रन बनाए। दोश्रो विकेटको लागि वासिमले मुस्तफासंग ८२ रनको साझेदारी गरे। चौधौं ओभरमा वासिमको विकेटपछि युएईले लगातार विकेट गुमाउन पुग्यो।

ओमानको बलिंगमा देब्रे हाते स्पिनर आमिर कलिमले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। बिलाल खान, कलेमुल्लाह र आयान खानले समान एक विकेट लिए।

सिरिजको अन्तिम खेलमा आज दिउँसो ३:४५ बजे नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

२०७८ फाल्गुन २, सोमबार मा प्रकाशित