दिपेन्द्रले करियरकै उत्कृस्ट बलिंग गर्दा आयरल्याण्ड १२७ रनमै सिमित

दिपेन्द्र ऐरीले करियरकै उत्कृस्ट बलिंग प्रदर्शन गर्दा ओमानमा जारी चार देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई १२७ रनमा सिमित पारेको छ।

अल अमिरात मैदानमा टस जितेर नेपालले ब्याटिंगको निम्तो दिएपछि आयरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।

आयरल्याण्डको ब्याटिंगमा जर्ज डकरेलले सर्वाधिक २८ रन, कर्टिस क्याम्फरले २० रन,एन्ड्रयु बालबर्नीले १९ रन लोर्कान टकरले १५ रन तथा शेन गेटकेटले १४ रन बनाए।

आयरल्याण्डले पावरप्ले भित्र शिर्ष ३ विकेट गुमाएको थियो। त्यसपछि नेपालले निरन्तर खेलमा दबाब बनायो। दिपेन्द्र ऐरीले इनिंग्सको बाह्रौं ओभरमा कर्टिस क्याम्फर र सिमि सिंहको विकेट लिंदै थप दबाब बनए। अन्तिममा डकरेलले केहि आक्रामक सट खेल्दै योगफल १ सय पार गराए।

नेपालको बलिंगमा अफ स्पिनर दिपेन्द्र ऐरीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए। टि-ट्वान्टी अन्तर्राष्ट्रियमा दिपेन्द्रको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। यस्तै टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली बलरको यो चौंथो उत्कृस्ट स्पेल हो। यस्तै अविनाश बोहराले २ विकेट लिंदा कमल सिंह ऐरी, जितेन्द्र मुखिया र सन्दिप लामिछानेले समान एक विकेट लिए।

खेलमा नेपालले अन्तिम एघारमा कुशल भुर्तेललाई पहिलो पटक मौका दिएको छ। बिबेक यादव, शाहब आलम र आरिफ सेखलाई बाहिर राखिएको छ।

२०७८ फाल्गुन २, सोमबार मा प्रकाशित