टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अघि नेपाली क्रिकेट टिमलाई ठूलो झट्का लागेको छ।
फेब्रुअरी १८ तारिख देखि ओमानमा सुरु हुने महत्वपूर्ण प्रतियोगिता अघि नेपाली टिमका प्रमुख फास्ट बलिंग अलराउण्डर करन केसी घाइते भएका कारण घर फर्कने भएका छन्।
क्यान श्रोतका अनुसार करन एक-दुई दिनमा घर फर्कनेछन्। ढाडको समस्याका कारणले ओमान भ्रमण अन्तर्गत चार देशीय सिरिज गुमाएका थिए।
खेलनेपाललाई क्यान श्रोत प्राप्त जानकारी अनुसार करनको स्थानमा अर्को फास्ट बलर एक/दुई दिनमा ओमान प्रस्थान गर्नेछ। फास्ट बलर गुल्सन झाले करनको ठाउँ लिन सक्ने सम्भावना प्रवल रहेको छ। गुल्सन बन्दप्रशिक्षण टिममा नरहेता पनि ओमान भ्रमण अघि नेपाली टिमसंग नियमित अभ्यास गरिरहेका थिए।
दबाबको खेलहरुमा बलिंग र ब्याटिंगबाट खेल जिताउदै आएका करनको अनुभव ओमानमा नेपाली टिमले महसुस गर्नेछ। फेब्रुअरी १४ तारिख अर्थात् भ्यालेन्टाइन डे मा नेपाल आयरल्याण्डसंग पराजित हुँदा धेरैले करनको खेल याद गरेका थिए जसले २०१८ डिभिजन-२ मा क्यानडा बिरुद्ध चमत्कारिक खेल जिताएका थिए।
नेपाल टिममा हाल जितेन्द्र मुखिया, अविनाश बोहरा र कमल सिंह ऐरी अन्य फास्ट बलर रहेका छन्। चार देशीय सिरिजमा तिन जना पेसरले राम्रो प्रदर्शन गर्नाले करनको अनुपस्थिति फास्ट बलिंगमा महसुस हुन दिएका छन्। तर नेपालको मिडल अर्डर फर्ममा नहुँदा करनको फिनिसिङ नेपाली टिमले मिस गर्नेछ।
२०१५ मा नेदरल्याण्ड भ्रमणमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका करन नेपालको दोश्रो सर्वाधिक विकेटकर्ता हुन्। सन्दिप लामिछाने ( ५० विकेट ) पछि उनले नेपालको लागि ३३ खेल खेल्दा ४४ विकेट लिएका छन्। यस्तै उनि बिनोद भण्डारी ( ३५ ) र ज्ञानेन्द्र मल्ल ( ३५ ) पछि नेपालको लागि संयुक्त रुपमा धेरै टि-२० अन्तर्राष्ट्रिय खेल्ने खेलाडी समेत हुन्। करन, पारस खड्का र सोमपाल कामिले समान ३३ खेल खेलेका छन्।
चार देशीय टि-२० सिरिजमा नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेता पनि त्यसपछि युएईसंग २५ रनले तथा आयरल्याण्डसंग १६ रनको हार बेहोर्यो। नेपालले टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा खेल्नेछ। फेब्रुअरी १९ तारिखमा फिलिपिन्स र २१ तारिखमा क्यानडासंग खेल्ने तालिका छ। समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ।