ओमान भ्रमणको क्रममा घाइते भएका नेपाली टिमका प्रमुख फास्ट बलिंग अलराउण्डर करन केसीले टि-ट्वान्टी विश्वकप प्रतियोगिता गुमाउने भएपछि उनको स्थान अर्का फास्ट बलर गुल्सन झाले लिने भएका छन्।
ढाडको समस्याका कारण ओमान भ्रमणको चार देशीय टि-ट्वान्टी सिरिजको सबै खेलमा मैदान बाहिर बसेका करन नेपाल फर्कने भएपछि उनको प्रतिस्थापनमा अर्का पेसर ओमान बोलाइएको हो।
झा भिसा प्रक्रिया सकेर दुई दिनमा ओमान पुग्नेछन्। गुल्सन बन्दप्रशिक्षण टिममा नरहेता पनि ओमान भ्रमण अघि नेपाली टिमसंग नियमित अभ्यास गरिरहेका थिए।
फेब्रुअरी १८ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप छनोटको लागि नेपालले आज भोलिमा टिम घोषणा गर्नेछ। भ्रमणमा पुगेका १७ जना खेलाडीबाट करन केसी सहित अन्य दुई खेलाडीलाई बाहिर राख्नु पर्नेछ। नेपाली टिममा जितेन्द्र मुखिया, अविनाश बोहरा र कमल सिंह ऐरी तिन फास्ट बलरको रुपमा छन्। घोषित हुने १४ सदस्यीय टिममा गुल्सनलाई पनि चौंथो फास्ट बलरको रुपमा समाबेश गर्ने सम्भावना प्रवल छ।
ओमान भ्रमण अघि नेपाली टिमको बन्द प्रशिक्षणमा सोमपाल कामि र बिक्रम सोब पनि समाबेश थिए। सोमपाललाई बन्द प्रशिक्षण टिममा नराखिएता पनि ओमान भ्रमण पछि हुन सक्ने विश्वकप लिग-२ को खेलको लागि तयारी गर्न बोलाइएको थियो। तर प्रशिक्षक पुबुदु दासानायेकेले गुल्सनलाई मौका दिएका हुन्। पछिल्लो समय सोमपाल कामिले बलिंग लय गुमाएका कारण उनलाई पुनरागमन गर्न कठिन देखिएको हो।
गुल्सनले नेपालको लागि गत वर्ष ओमान भ्रमणमा एरिका बिरुद्ध विश्वकप लिग-२ अन्तर्गत खेलमा डेब्यु गरेका थिए। उक्त खेलमा ब्याटिंगबाट २८ रन बनाएका उनले बलिंगमा ३ ओभरमा ३१ रन खर्चिएका थिए। त्यसपछि उनलाई अन्य खेलमा बाहिर राखिएको थियो।
ओमान भ्रमण अघि सम्पन्न प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबको प्रतिनिधित्व गरेका गुल्सनले ६ खेलमा ५ विकेट लिएका थिए। त्यसअघि यु-१९ एसियाकप खेलेका उनले तिन खेलमा ४ विकेट लिएका थिए।
टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा खेल्नेछ। फेब्रुअरी १९ तारिखमा फिलिपिन्स र २१ तारिखमा क्यानडासंग खेल्ने तालिका छ। समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ।