तेश्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पांच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज दुई खेल अगावै ३-० ले जितेको छ।
मानुका ओभल, क्यानबेरामा सम्पन्न खेलमा श्रीलंकाले दिएको १२२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट क्षेतीमा भेटायो।
अस्ट्रेलियाको ब्याटिंगमा ग्लेन म्याक्सवेलले सर्वाधिक ३९ रन बनाए जुन क्रममा २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। कप्तान आरोन फिंचले ३५, जोश इंगलिशले अविजित २१, एस्टन एगरले १३ तथा मार्कस स्टोइनिसले अविजित १२ रन बनाए। तेश्रो विकेटको लागि फिंच र म्याक्सवेलले ५० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। श्रीलंकाका बलर महेश तिक्षणाले ३ तथा जेफ्री भान्डरसेले एक विकेट लिए।
टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभर ब्याटिंग गर्दै ६ विकेट क्षेतीमा १२१ रन बनाएको थियो। उसको लागि कप्तान दासुन शनाकाले सर्वाधिक अविजित ३९ रन बनाए। यस्तै दिनेश चण्डीमालले २५ तथा पथुम निसंकाले १६ रन बनाए। ४० रनमा ४ विकेट गुमाएको अवस्थामा शनाका र चण्डीमालले पाँचौ विकेटको लागि ४७ रनको साझेदारी गरे।
अस्ट्रेलियाका फास्ट बलर केन रिचर्डसनले ३ विकेट ( ४-०-२१-३ ) लिए भने जोश हेजलवुड, एस्टन एगर र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए।
सिरिज अन्तर्गत पहिलो अस्ट्रेलियाले २० रनले तथा दोश्रो खेल सुपर ओभरमा जितेको थियो। सिरिजको चौंथो र पाँचौ खेल फेब्रुअरी १८ र २० तारिखमा खेलिनेछ।