“नेपालले विश्व क्रिकेटको मन जितेको छ” कमेन्टेटर एन्ड्रयु लियोनार्ड

सोमबार सम्पन्न चार देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत आयरल्याण्डसंगको खेलमा नेपाली टिमका विकेटकिपर आसिफ शेखले देखाएको खेल भावनाको विश्वभर तारिफ भएको छ। ठूला मिडियाहरुले समेत त्यसको चर्चा गरेका छन् भने सामाजिक संजालमा उक्त घटनाको भिडियो भाइरल बनेको छ।

के भएको थियो : खेलको उन्नाईसौं ओभरको दोश्रो बलमा कमल सिंह ऐरीले मार्क अडेरलाई बलिंग गर्दा उक्त घटना घटेको थियो। रन लिने क्रममा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रायन बल समात्न दौडेका कमल सिंह ऐरीसंग ठोकिएर लड्न पुगे। म्याकब्रायन उठेर क्रिजतर्फ जाने प्रयास गर्दा कमलले बल समातेर विकेटकिपर आसिफलाई फाले। आसिफले बल समात्दा म्याकब्रायन क्रिजबाट २ मिटर टाढा थिए तर आसिफले सहजै हुन सक्ने रन आउट गरेनन् र म्याकब्रायनले रन पुरा गरे।

उक्त घटना हुँदै गर्दा कमेन्ट्रि गरिरहेका एन्ड्रयु लियोनार्डले असिफलाई रनआउट नगर्नको लागि कप्तान सन्दिप लामिछानेले महत्वपूर्ण भूमिका निभाएको बताए – “नेपाली क्रिकेट मैले नजिक बाट पछ्याएरहेको मलाई उनले बेल झार्ने छैनन् अनुमान थियो र म खुसि छु कि उनले त्यही गरे। उनलाई ( आसिफ ) त यसको श्रेय जान्छनै त्यतिनै श्रेय कप्तान सन्दिप लामिछानेलाई पनि जान्छ जसलेनै विकेट किपर आसिफलाई स्टम्प नढाल्न भनेका थिए।”

“संस्कार माथिबाट आउँछ। क्रिकेटको खेल भावना बारे धेरै चर्चा चल्ने गर्छ र आधुनिकतासंगै यो गुमेको पनि महसुस हुन्छ। खेलमा पराजित भएता पनि नेपालले विश्व क्रिकेटको मन जितेको छ” लियोनार्डले बताए। लियोनार्ड केहि वर्ष यता नेपाली राष्ट्रिय टिमले खेल्ने खेलहरु तथा एभरेस्ट प्रिमियर लिगमा नियमित कमेन्ट्रि गरिरहेका छन्।

आसिफ शेख र कप्तान सन्दिप लामिछानेको प्रतिक्रिया

घटना पछि मंगलबार आसिफ शेखले पहिलो पटक प्रतिक्रिया दिएका छन्। भारतीय मिडिया टाईम्स अफ इन्डीयासंग आसिफले त्यस बेला आफुले मात्र भन्दा पनि टिमलेनै उनलाई रन आउट नगर्ने निर्णय लिएको बताए –

“उनि ( म्याकब्रायन ) हाम्रो बलर ( कमल ) को लाइनमा दौडीएका थिए जुन क्रममा उनि ठोकिन पुगे। कमलले मतर्फ बल फाले र हामिले उनलाई रनआउट नगर्ने निर्णय लियौं। म देखिरहेको थिएँ उनि क्रिजतर्फ आईरहेका थिए र मैले बेल नखसाल्ने निर्णय लिए। यो टिमको निर्णय थियो त्यसैले यसको श्रेय टिमका सदस्यहरुलाई जान्छ।” आसिफले बताएका छन्।

नेपाली टिमका कप्तान सन्दिप लामिछानेले पनि प्रतिक्रिया दिने क्रममा नेपाली टिमले खेल भावना र इमान्दारितामा विश्वास राख्ने बताए – “एउटा टिमको रुपमा हामि खेल भावना अन्तर्गत रहँदै इमान्दारितामा विश्वास गर्ने गर्छौं। फिल्डिंगको क्रममा हाम्रा खेलाडीहरुले गजबको स्वभाव देखाएका छन्।”

सन्दिपले म्याकब्रायन ठोकीएपछि आफूले आसिफलाई बेल नखसाल्न भनेको बताए – “म्याकब्रायन लडेको देख्नेबित्तिकै मैले आसिफलाई बेल नखसाल्न भने र उनले निकै छिटो त्यो कुरा बुझेर काम गरे। यसले देखाउछ कि हाम्रो टिम कति राम्रो छ।”

घटना पछि विश्व क्रिकेटलेनै नेपालले खेलभावनाको उच्चस्तरीय नमुना प्रस्तुत गरेको प्रतिक्रिया दिएको छ। चर्चित क्लब मेरीलेबोन क्रिकेट क्लबले समेत आसिफ शेखले खेल भावना देखाएको बताउदै ट्वीट गरेको छ।

२०७८ फाल्गुन ४, बुधबार मा प्रकाशित