टि-२० विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार एड प्याडलाई, कहाँ हेर्ने लाईभ ?

ओमानमा फेब्रुअरी १८ तारिख देखि सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोटको नेपालमा प्रत्यक्ष प्रशारण अधिकार एड प्याडले पाएको छ। यसै साता ओमानमा सम्पन्न सम्पन्न चार देशीय सिरिजको नेपाल प्रशारण अधिकार समेत एड प्याडले पाएको थियो।

विश्वकप छनोटमा नेपालले खेल्ने खेलहरुको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने पक्का भएको छ। चार देशीय सिरिजको पनि हिमालय टिभीले प्रत्यक्ष प्रशारण गरेको थियो।

युट्युब र अन्य डिजिटल राइट्स बारे भने निर्णय हुन बाँकी रहेको एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले खेलनेपाललाई जानकारी गराएका छन्। यस अघि चार देशीय सिरिजमा दराज एप तथा ओएसआर स्पोर्ट्सले युट्युबमा प्रत्यक्ष प्रशारण गरेको थियो।

“चार देशीय टि-२० सिरिजको सफलता पछि एड प्याड विश्वकप छनोटको प्रशारण अधिकार खरिद गर्न प्रयासरत थियो। हाम्रो मुख्य उद्देश्य क्रिकेटलाई नेपाली दर्शकमाझ पुर्याउनु हो त्यसैले अन्तिम चरणमा मुनाफालाई समेत अलग राख्दै हामीले व्यवसायिक जोखिम लिने निर्णय गरेका छौँ। हामीलाई आशा छ पछिल्लो प्रतियोगिता जस्तै यो प्रतियोगितामा पनि दर्शकको संख्या बढ्नेछ र हामि आगामी दिनमा अरु क्रिकेटलाई दर्शकहरु माझ ल्याउन सफल हुनेछौँ।” प्रबन्ध निर्देशक गिरिले बताएका छन्।

टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा खेल्नेछ। फेब्रुअरी १९ तारिखमा फिलिपिन्स र २१ तारिखमा क्यानडासंग खेल्ने तालिका छ। समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ। प्रतियोगिताको लागि १४ सदस्यीय टिमको घोषणा गरिसकिएको छ।

२०७८ फाल्गुन ४, बुधबार मा प्रकाशित