डेब्यु गरेका स्पिनर रभी बिस्नोईले उत्कृस्ट प्रदर्शन गर्दा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै भारतले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियमा १-० को अग्रता हाँसिल गरेको छ।
कोलकाता स्थित ईडन गार्डेन्स स्टेडियममा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १५८ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट क्षेतीमा भेटायो। घर बाहिर खेलेको पछिल्लो १२ खेलमा वेस्टइन्डिजको यो एघरुण हार हो।
लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर रोहित शर्मा र इशान किशनले ६४ रनको साझेदारी गरे। १९ बलमा ४ चौका र ३ छक्का मद्दतले ४० रन बनाएका रोहित आठौँ ओभरमा रोस्टन चेजबाट क्याच आउट भए। ४२ बलमा ३५ रन बनाएका किशन बाह्रौं ओभरमा चेजबाट क्याच आउट भए। लगत्तै ओभरमा १७ रन बनाएर बिराट कोहली फाबीयन एलेनबाट क्याच आउट भए। रिशभ पन्त पनि ८ रन बनाएर आउट हुँदा भारत ११४/४ को स्थितिमा पुग्यो। त्यसपछि सुर्यकुमार यादव र भेंकटेस ऐयरले अविजित ५८ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। यवादले १८ बलमा ५ चौका र १ छक्का मद्दतले ३४ तथा ऐयरले १३ बलमा २ चौका र १ छक्का मद्दतले २४ रन बनाए।
वेस्टइन्डिजका बलर रोस्टन चेजले दुई ( ४-०-१४-२ ) तथा शेल्डन कटरेल र फाबीयन एलेनले समान एक विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट क्षेतीमा १५७ रन बनाएको थियो। उसको लागि निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए जुन क्रममा ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। कायल मेयर्सले ३१ तथा कप्तान काईरन पोलार्डले अविजित २४ रन बनाए। पुरन र पोलार्डले छैठौं विकेटको लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरे।
भारतको बलिंगमा डेब्युटेन्ट लेग स्पिनर रभी बिस्नोईले ४ ओभरमा मात्र १७ रन खर्चेर २ विकेट लिए। हर्षल पटेलले पनि दुई विकेट ( ४-०-३७-२ ) लिए भने भुवनेश्वर कुमार, दिपक चाहर र युजभेन्द्र चहलले समान एक विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो खेल फेब्रुअरी १८ तारिखमा तथा तेश्रो खेल फेब्रुअरी २० तारिखमा खेलिनेछ। यस अघि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि भारतले ३-० ले क्लिन स्विप गरेको थियो।