फिलिपिन्स बिरुद्ध क्यानडाको विशाल जित, म्याथुको कीर्तिमानी शतक

म्याथु स्पुर्सले कीर्तिमानी शतक बनाउदा टि-ट्वान्टी विश्वकप छनोट अन्तर्गत समुह ‘बि’ अन्तर्गतको दोश्रो खेलमा क्यानडाले फिलिपिन्सलाई ११८ रनले पराजित गरेको छ।

अल अमिरात मैदानमा क्यानडाले दिएको २१७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले पुरै २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा ९८ रन मात्र बनाउन सक्यो। फिलिपिन्सको लागि ड्यानियल स्मिथले ३५, कपिल कुमारले २३ तथा विमल कुमारले १५ रन बनाए। क्यानडाका बलर कलिम साना र साद बिन जाफरले समान दुई विकेट तथा जुनैद सिद्दिकीले एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको क्यानडाले निर्धारित २० ओभरमा १ विकेट मात्र गुमाएर २१६ रन बनाएको थियो।

क्यानडाका ओपनर म्याथु स्पुर्सले शतक बनाउने क्रममा मात्र ६६ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै अविजित १०८ रन बनाए। यस्तै ओपनर रायन पठानले ४४ बलमा ७३ तथा कप्तान नभित ढालीवालले अविजित ११ बलमा २६ रन बनाए। स्पुर्स र पठानले १४९ रनको ओपनिंग साझेदारी गरेका थिए।

प्रतियोगिता अन्तर्गत फिलिपिन्सले दोश्रो खेलमा नेपालसंग शनिवार प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ। क्यानडा र नेपाल बीचको खेल फेब्रुअरी २१ तारिखमा हुनेछ।

आज सम्पन्न समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा नेपालले ओमनालाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।

२०७८ फाल्गुन ६, शुक्रबार मा प्रकाशित