पाँच नेपाली खेलाडी जसले ओमान बिरुद्ध जितमा उत्कृस्ट योगदान दिए

ओमानलाई ३९ रनले पराजित गर्दै टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। खेलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपालको जितमा उत्कृस्ट योगदान दिने पाँच खेलाडीको चर्चा यस लेखमा गरेका छौँ –

१. आरिफ शेख – ओमानले टस जितेर बलिंग रोजेपछि नेपालको ब्याटिंग धरासायी बन्न पुगेको बेल आरिफ शेखले एक किनार सम्हाल्दै अन्तिमसम्म ब्याटिंग गरे। ३७ बलमा २ चौका मद्दतले ३८ रन बनाएका आरिफले ब्याटिंग गर्न कठिन पिचमा धैर्यता गुमाएनन् र एक/दुई रन लिंदै इनिंग्सलाई अन्तिमसम्म लागे। पाँचौ नम्बरमा ब्याटिंग गरेका आरिफले लोकेश बमसंग पाँचौ विकेटको लागि २७ रनको तथा आठौँ विकेटको लागि कप्तान सन्दिप लामिछानेसंग ३० रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए। सोहि योगदानको लागि आरिफ प्लेयर अफ द म्याच समेत चुनिए।

२. कमल सिंह ऐरी – ११७ रनको योगफल रक्षा गर्न नेपाललाई राम्रो सुरुवातको खाँचो थियो। त्यसै अनुरुप कमलले पहिलो ओभरमै उत्कृस्ट लयमा रहेका ओमान ओपनर कश्यप प्रजापतिलाई खाता नखोली क्याच आउट पारे। त्यसपछि इनिंग्सको अन्तिममा कमलले ओमानको अन्तिम दुई विकेट लिंदै ओमानको जितको सबै सम्भावना समाप्त पारे। ३ ओभरमा कमलले १५ रन खर्चेर ३ विकेट लिए।

३. जितेन्द्र मुखिया – कमल सिंह ऐरीले पहिलो ओभरमा विकेट लिएपछि ओमान माथिको दबाब कायम राख्न मुखियाले उत्कृस्ट बलिंग गरे। उनले दोश्रो ओभरमा ३ रन बनाएका आयान खानलाई विकेट पछाडी क्याच आउट पारे। पावरप्लेमा तिन ओभर बलिंग गरेका मुखियाले मात्र ९ रन खर्चेर १ विकेट लिए। दबाबपूर्ण बलिंग गरेका उनको तेश्रो ओभरमा जतिन्दर सिंह रन आउट हुन पुगे।

४. सन्दिप लामिछाने : खेलमा कप्तान सन्दिपले सानो योगफल रक्षा गर्न कप्तानी मात्र हैन ब्याटिंग र बलिंगमा समेत राम्रो प्रदर्शन गरे। नेपाल ८७/७ को अवस्थामा हुँदा ब्याटिंगमा आएका सन्दिपले मात्र ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १६ रन बनाए जसकारण नेपाल सम्मानजनक योगफलसम्म पुग्न सक्यो। सन्दिपले खवर अलिलाई उन्नाईसौं ओभरमा छक्का र चौका प्रहार गरे भने अन्य दुई बलमा दुई/दुई रन लिए जुन ओभरमा १५ रन आयो। ब्याटिंग पछि बलिंगमा योगदान दिने क्रममा सन्दिपले सातौँ ओभरमा ७ रन बनाएका खवर अलिलाई बोल्ड गरे भने आक्रामक ब्याटिंग गर्दै १८ बलमा २४ रन बनाएका नसिम खुसिको महत्वपूर्ण विकेट बोल्ड गर्दै लिए। ४ ओभर बलिंग गर्दै सन्दिपले २० रन खर्चेर २ विकेट लिए।

५. दिपेन्द्र ऐरी : खेलमा ब्याटिंगमा १८ बलमा मात्र ११ रन बनाएर आउट भएका ऐरीले त्यसपछि फिल्डिंग र बलिंगमा उत्कृस्ट प्रदर्शन गरे। उनले ओमानका आक्रामक ओपनर जतिंदर सिंहलाई छैठौं ओभरमा उत्कृस्ट रन आउट पारे। त्यसपछि उनले आठौँ ओभरमा जिशान मक्सुदको तथा चौधौं ओभरमा आमिर कलेमको ठूलो विकेट समेत लिए। एउटा क्याच समेत गरेका ऐरीले ४ ओभरमा मात्र १५ रन खर्चेर २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल फिलिपिन्ससंग शनिवार खेल्नेछ। खेल नेपाली समय ११:४५ बजे सुरु हुनेछ। यस्तै तेश्रो खेल नेपालले क्यानडासंग खेल्नेछ।

२०७८ फाल्गुन ६, शुक्रबार मा प्रकाशित