विश्वकप छनोट : युएईद्वारा टेस्ट राष्ट्र आयरल्याण्ड पराजित, मैयप्पा र अरविन्द उत्कृस्ट

टेस्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै युएईले ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट ( ए ) विजयी सुरुवात गरेको छ। आयरल्याण्ड बिरुद्ध युएईको यो लगातार चौंथो टि-ट्वान्टी अन्तर्राष्ट्रिय जित हो। भर्खरै सम्पन्न चार दिवसीय सिरिजमा समेत युएईले आयरल्याण्डलाई पराजित गरेको थियो।

समुह ‘ए’ अन्तर्गतको खेलमा युएईले दिएको १५८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १३९ रन मात्र बनाउन सक्यो। आयरल्याण्डको ब्याटिंगमा ओपनर पल स्टरलिंगले सर्वाधिक ३२, लोर्कान टकरले २५, कप्तान एन्डी बालबर्नीले १९ शेन गेटकेटले १७ तथा एन्डी म्याकब्रायनले १४ रन बनाए।

ओपनर स्टरलिंग र बालबर्नीले ५० रनको साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाएपछि युएई लेग स्पिनर मैयप्पाले स्टरलिंग, डेलानी र सिमि सिंह जस्ता आयरल्याण्डको माथिल्लो क्रम ब्याट्सम्यानको विकेट लिंदै युएईलाई हावी गराए।

युएईका बलर लेग स्पिनर कार्तिक मैयप्पाले सर्वाधिक तिन विकेट ( ३-०-१६-३ ) लिए भने जहुर खान र रोहन मुस्तफाले दुई तथा जुनैद सिद्दिकी र एहमद रजाले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट क्षेतीमा १५७ रन बनाएको थियो।

युएईको लागि १९ वर्षीय ब्याट्सम्यान भृत्य अरविन्दले सर्वाधिक ९७ रन बनाए जुन क्रममा ६७ बलमा १३ चौका र १ छक्का प्रहार गरे। टि-२० अन्तर्राष्ट्रियमा युएई ब्याट्सम्यानले बनाएको यो तेश्रो उच्च व्यक्तिगत स्कोर हो। बसिल हमिदले १६ तथा जवर फरिदले १२ रन बनाए। अर्को किनारमा विकेट गुमीरहेता पनि तेश्रो नम्बरमा आएका अरविन्दले एक किनार समाल्दै अन्तिमसम्म ब्याटिंग गरेका थिए।

आयरल्याण्डका बलर क्रेग योंगले दुई तथा मार्क अडेर, जोश लिटल र सिमि सिंहले समान एक विकेट लिए।

प्रतियोगिताको समुह ‘ए’ मा युएई र आयरल्याण्डसंगै जर्मनी र बहराईन रहेका छन्। समुह ‘बि’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन्। दुवै समुहमा सबै टिमले एकअर्कासंग एक/एक खेले खेले पछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछ। फाइनल पुग्ने दुई टिम अस्ट्रेलियामा यो वर्ष अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप खेल्न छनोट हुनेछ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न अन्य तिन खेलमा नेपालले ओमानलाई ३९ रनले, क्यानडाले फिलिपिन्सलाई ११८ रनले तथा बहराईनले जर्मनीलाई ६ विकेटले पराजित गर्यो।

भोलि शनिवार पनि प्रतियोगिताको चारवटा खेलहरु खेलिनेछन्। विहान ११:४५ बजे ओमान र क्यानडा तथा नेपाल र फिलिपिन्स तथा दिउँसो ३:४५ बजे जर्मनी र युएई तथा बहराईन र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।

२०७८ फाल्गुन ६, शुक्रबार मा प्रकाशित