पूर्व प्रशिक्षक टमाटाद्वारा आरिफको तारिफ, नेपालको विश्वकप छनोट सम्भावना बारे यसो भने

नेपालको ओमान बिरुद्ध जितपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व मूख्य प्रशिक्षक जगत टमाटाले प्लेयर अफ द म्याच चुनिएका अरिफ शेखको तारिफ गरेका छन्। उनले आरिफको तारिफ गर्दै अफ्टेरो विकेटमा जिम्मेवार इनिंग्स खेलेको बताए।

“सुरुवातमा हामीले लगातार विकेट गुमाएपछि, आरिफले जसरि सिंगल डबल रन लिए, ब्याटको फेस खोलेर पछाडी रन लिए। सिधा र एक्स्ट्रा कभरमा मात्र रन लिए। उनले ३८ रन बनाएको छ। जुन हिसाबले उनले इनिंग्स निर्माण गर्यो र जिम्मेवारी लिए र फिनिस गरे त्यसैकारण उनले प्लेयर अफ द म्याच पाए” खेलपछि हिमालय टिभीको पोस्ट म्याच सोमा टमाटाले बताए।

आरिफले ३७ बलमा ३८ रन बनाउदा २ चौका प्रहार गरे। पाँचौ नम्बरमा ब्याटिंग गरेका उनले लोकेश बमसंग पाँचौ विकेटको लागि २७ रनको तथा आठौँ विकेटको लागि कप्तान सन्दिप लामिछानेसंग ३० रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए।

उनले कप्तान सन्दिप लामिछानेले बलिंग परिवर्तन राम्रो गरेको बताउदै बलरहरुले योजना अनुरुप बल फालेको बताए – “जतिखेर पनि कप्तानले बलिंग परिवर्तन गरायो त्यति खेर विकेट पाएको छ। सुरुवाती ओभरमा कमलले राम्रो ठाउँमा बल राख्यो। जुन हिसाबले स्लो विकेट थियो सबैले बल माथि राखे एउटा पनि बल सर्ट बल दिएनन्। यसको श्रेय सबै टिमलाई जान्छ।”

आफ्नो बलमा दुई छक्का हिर्काएपछि सन्दिपले नसिम खुसिको विकेट लिनुलाई टमाटाले विकेट लिने प्रयास गरेको बताए – “सन्दिपले तेश्रो ओभर फाल्दै गर्दा दुई छक्का खाए र त्यसपछि उनले विकेट लिए। उनले विकेट निकाल्न प्रयास गर्दै थिए किनकि हामीलाई रन भन्दा विकेट आवस्यक थियो।” खुसिले १८ बलमा १ चौका र २ छक्का मद्दतले २४ रन बनाउदै खेल परिवर्तन गर्ने प्रयास गर्दा सन्दिपले उनलाई बोल्ड गरेका थिए।

नेपालको लागि विश्वकप छनोट हुनु चुनौतिपूर्ण रहेता पनि टिमले योजना अनुरुप खेलेको खण्डमा सफल हुने विश्वास उनले व्यक्त गरे – “चुनौती छ, परिस्स्थिति अनुसार टिम व्यवस्थापनले बनाएको योजना अनुसार खेल्यौं भने हामि छनोट हुने छौँ। हामिसंग राम्रो मिडियम पेस बलिंग छ र हाम्रो उत्कृस्ट फिल्डिंग छ, वर्ल्ड क्लास स्पिनर छ, त्यसैले छनोट हुन सक्छौं।”

उनले युवा खेलाडीले पाएको मौकालाई सदुपयोग गर्नुपर्ने बताए – “जुन हिसाबको टिममा नयाँ खेलाडीहरु छन्, जुनियर सिनियर भन्दा प्रदर्शन महत्वपूर्ण छ जसले मौका पाउछ त्यसले गरेर देखाउनु पर्छ जसरि आरिफले देखायो। युवा खेलाडीलाई मौका दिईएको छ जसले जिम्मेवारी लिएको खण्डमा हामि सफल हुने छौँ।”

ओमानलाई पहिलो खेलमा ३९ रनले पराजित गरेपछि नेपालले प्रतियोगिताको दोश्रो खेल शनिवार फिलिपिन्ससंग तथा तेश्रो खेल सोमबार क्यानडासंग खेल्नेछ।

२०७८ फाल्गुन ७, शनिबार मा प्रकाशित