कुशल भुर्तेलद्वारा इंग्ल्यान्डका मलानको विश्वकीर्तिमान बराबरी

ओमानमा जारि टि-ट्वान्टी विश्वकप छनोट अन्तर्गत दोश्रो खेलमा फिलिपिन्स बिरुद्ध करियरको पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा कुशल भुर्तेलले विश्वकीर्तिमान बराबरी गरेका छन्।

फिलिपिन्स बिरुद्ध नेपालले १३६ रनको विशाल जित दर्ता गर्ने क्रममा नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ८२ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच चुनिएका ओपनर भुर्तेलले ६१ बलमा १३ चौका र १ छक्का मद्दतले अविजित १०४ रन बनाए।

कुशलले नेपालको लागि मात्र ८ इनिंग्समा ब्याटिंग गर्दा पाँचौ पटक ५० भन्दा माथिको स्कोर बनाउदै इंग्ल्यान्डका डेविड मलान र जिब्राल्टरका लुइस ब्रुसको विश्वकीर्तिमान बराबरी गरेका हुन्। ब्रुस र मलानले पनि पहिलो पाँचवटा पचास माथिको स्कोर पहिलो ८ इनिंग्समै पुरा गरेका थिए। ब्रुस, मलान र कुशल संयुक्त रुपमा विश्वकै सबैभन्दा छिटो पाँचवटा ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्। यी तिन ब्याट्सम्यान पछि सबैभन्दा छिटो पाँच वटा ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान भारतका गौतम गम्भीर र श्रीलंकाका कुशल परेरा हुन् जसले १२ इनिंग्स लगाएका थिए।

गत वर्ष नेदरल्याण्ड बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका भुर्तेलले उक्त खेलमा ६२ रन बनाएका थिए भने त्यस पछि मलेसिया र नेदरल्याण्ड बिरुद्ध क्रमशः ६१ र ६२ रन बनाउदै विश्वकीर्तिमान बनाएका थिए। डेब्यु पछि लगातार तिन अर्धशतक बनाउने टि-२० अन्तर्राष्ट्रियमा उनि एक मात्र खेलाडी हुन्। यस्तै उनले सोहि सिरिजमा नेदरल्याण्ड बिरुद्ध फाइनलमा ७७ रन बनाएका थिए। भुर्तेलले डेब्यु पछिको ८ इनिंग्समा क्रमशः ६२, ६१, ६२, १६, ७७, १५, ५ र १०४ रन बनाएका छन्।

खेलमा कुशलले अर्को कीर्तिमान पनि बनाएका छन्। कुशलले दिपेन्द्र ऐरीसंग मिलेर तेश्रो विकेटको साझेदारीको कीर्तिमान पनि बनाएका छन्। दुवैले फिलिपिन्स बिरुद्ध तेश्रो विकेटको लागि १७१ रनको साझेदारी गरे जुन तेश्रो विकेटको लागि विश्वकै तेश्रो उच्च साझेदारी हो। तेश्रो विकेटको लागि विश्वकै सर्वाधिक साझेदारीको रेकर्ड न्युजिल्यान्डका डेभोन कनवे र ग्लेन फिलिप्सको नाममा छ जसले वेस्टइन्डिज बिरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए। दोश्रो ठूलो साझेदारी इंग्ल्यान्डका डेविड मलान र ओएन मोर्गनले २०१९ मा न्युजिल्यान्ड बिरुद्ध १८२ रन बनाएका गरेका थिए।

यस्तै कुशल र दिपेन्द्रको साझेदारी कुनै पनि विकेटको लागि विश्वकै संयुक्त रुपमा आठौं ठूलो साझेदारी हो। न्युजिल्यान्डका मार्टिन गप्टिल र केन विलियमसनले पाकिस्तान बिरुद्ध २०१६ मा १७१ रनको ओपनिंग साझेदारी गरेका थिए जो संयुक्त रुपमा कुशल र दिपेन्द्रसंगै आठौँ स्थानमा छन्।

कुशल र दिपेन्द्रको १७१ रनको साझेदारी नेपालको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर बिरुद्ध दोश्रो विकेटको लागि १४५ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।

यस्तै कुशल भुर्तेलले खेलमा बनाएको १०४ रन टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको तेश्रो उच्च स्कोर हो भने तेश्रो शतक हो। ज्ञानेन्द्र मल्लले भुटान बिरुद्ध २०१९ मा बनाएको १०७ रन तथा पारस खड्काले सिंगापुर बिरुद्ध २०१९ मा बनाएको अविजित १०६ रन कुशल भन्दा उच्च स्कोर हो। कुशल, मल्ल र पारसले शतक बनाउदा सबैले ओपनिंग ब्याटिंग गरेका थिए।

नेपाल फिलिपिन्स खेलमा बनेका अन्य कीर्तिमानहरु

– नेपालले बनाएको २१८ रन टि-ट्वान्टी अन्तर्राष्ट्रियमा विदेशी भूमिमा नेपालको सर्वाधिक टिम योगफल हो। यस अघि नेपालको विदेशी भूमिमा सर्वाधिक स्कोर १७३ रन थियो जुन २०१९ मा मलेसिया बिरुद्ध बनाएको थियो।

– फिलिपिन्स बिरुद्ध १३७ रनको जित विदेशी भूमिमा नेपालको सर्वाधिक रनअन्तरको जित हो भने समग्रमा टि-२० अन्तर्राष्ट्रियमा तेश्रो ठूलो रन अन्तरको जित हो।

– खेलमा दिपेन्द्र ऐरीले बनाएको अविजित ८३ रन चौंथो नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले टि-ट्वान्टी अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर हो। यस क्रममा ऐरीले आफ्नै रेकर्ड तोडेका हुन्। उनले ओमान बिरुद्ध भर्खरै सम्पन्न चार देशीय सिरिजमा ओमान बिरुद्ध ७३ रन बनाएका थिए।

– फिलिपिन्स बिरुद्ध नेपालको योगफल ( २१८/३ ) टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो सर्वाधिक टिम योगफल हो। नेपालको सर्वाधिक योगफल नेदरल्याण्ड बिरुद्ध २३८ रन हो भने दोश्रो ठूलो योगफल भुटान बिरुद्धको २३६ रन हो।

२०७८ फाल्गुन ७, शनिबार मा प्रकाशित